भक्तपुर। भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृहमा बिहीबार राति भएको झडपमा परी १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ। झडपपछि १६२ जनालाई स्थानान्तरण गरेर सुधार गृह खाली गराइएको स्थानीय प्रशासनले जनाएको छ।
एक पक्षले अर्को पक्षलाई हेप्ने, कुट्ने पिट्ने गरेपछि झडप भएको प्रहरीको भनाई छ। झडपको क्रममा सुधार गृहमा आगजनी समेत भएको थियो। साढे दश वजेतिर झडप भएको खबर आएसंगै प्रहरी बृत्त थिमिको टोली घटनास्थल पुगेको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरी टोली सुधार गृहभित्र छिर्न खोजे पनि सुधार गृहमा रहेकाहरुले प्रहरीलाई नै ढुंगामुढा गरेका थिए। घाइते भएकालाई उद्दार गरेर उपचारका लागि अस्पताल लग्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएको थियो।
सो बाल सुधार गृहमा जम्मा १६४ जना थिए। आगजनी गरेर भवन ध्वस्त बनाएपछि अहिले सबैलाई स्थानान्तरण गरिएको छ। उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं र भक्तपुरको बाल सुधार निगरानी कक्षमा राखिएको प्रहरीले जनाएको छ।



