बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

खाद्य स्वच्छताका लागि काठमाडौं महानगरले दियो २ हजार ६९ जना व्यवसायीलाई तालिम

खाद्य स्वच्छताका लागि काठमाडौं महानगरले दियो २ हजार ६९ जना व्यवसायीलाई तालिम

images
२०८२ माघ २ गते, शुक्रवार
२०८२ माघ २ गते, शुक्रवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अहिलेसम्म २ हजार ६९ जना व्यावसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ।

    images

    ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ शृङ्खला सकिएको छ।

    images

    स्वच्छ खाना : उत्कृष्ट व्यापार (सेफर फुड : वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ।

    तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो। दोस्रो संस्करणमा २०८१ को दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिएको थियो।

    यस्तै दशैँ लगत्तै तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो। यसमा १६२ जना सहभागी थिए।

    चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि तालिम आयोजना गरिएको थियो। तालिममा ३६६ जना व्यवसायी सहभागी थिए।

    यसैगरी पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेतालाई सहभागी गराइएको थियो। यसमा ५०५ जना सहभागी थिए।

    छैटौँमा मिठाइजन्य खाद्य सेवाका १०५ जना, सातौमा दूध तथा दूग्ध पदार्थ उत्पादक ६० जनालाई तालिम प्रदान गरिएकोमा आठौँ संस्करणमा मः मः पसल सञ्चालक तथा व्यावसायीलाई तालिम प्रदान गरिएको थियो। यसमा २५० जना व्यावसायी सहभागी छन्।

    शुक्रबार दरबार हाइस्कूलमा आयोजना भएको आठौँ संस्करणको क्षमता विकास कार्यक्रमको अवलोकनका क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहरको खाद्य सेवालाई महसुस योग्य बनाउन एक साथ काम गर्न व्यवसायीलाई आग्रह गरिन।

    ‘हामी नियमित बजार अनुगमनमा छौँ। तर, हामी अनुगमन मात्र गरिरहेका छैनौँ। व्यवसायीलाई कानुनी व्यवस्थाका बारेमा साक्षर गराइरहेका छौँ। व्यापारिक क्षमता विकास गराउँछौँ। यसबाट सुपथ मूल्यमा उपभोक्ताले स्वच्छ, गुणस्तरीय खाद्य बस्तु प्राप्त गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौँ।’ डंगोलले भनिन्।

    महानगरपालिकाका खाद्य स्वच्छता सल्लाहकार जीवनप्रभा लामाका अनुसार  तालिममा खाद्य सेवामा अन्न उत्पादन, ढुवानी, भण्डारण, प्रशोधन, खाद्य बस्तुको उत्पादन, पकाइएको खानेकुराको भण्डारण, भण्डारणको अवधि र विधि, व्यवसायका सही र गलत प्रयोग, गलत प्रयोगबाट हुने नोक्सानी, खानेकुरा सुरक्षाका जोखिम, प्रदूषणको रोकथाम, स्वच्छता र सरसफाइ जस्ता विषयमा सैद्धान्तिक ज्ञान र व्यावहारिक प्रयोग सम्बन्धी सिप प्रदान गरिन्छ।

    सरसफाइको स्थान र स्तरीकरण, व्यावसायिक संरचनाको न्युनतम सुविधा तथा मापदण्ड, क्रस कन्टामिनेसनको रोकथाम, सही व्यवस्थापन नहुँदा खानेकुराबाट उत्पन्न हुन सक्ने जोखिम, हाइजिन रेटिङ् र प्रमाणीकरण जस्ता विषय कक्षामा समावेश गर्ने गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए।

    प्रचलित कानुनी व्यवस्था (मापदण्ड, व्यवस्था पालना नगर्दा हुने क्षति, दण्ड तथा जरिवाना) जस्ता विषयमा ज्ञान अद्यावधिक गर्ने विषय तालिमको पाठ्यक्रममा समावेश छ। सरसफाइ र स्वच्छतासँगै शत्रु जीवबाट खानेकुराको सुरक्षा, खाना पकाउने ठाउँ, खाना बनाउने कच्चा पदार्थ, कार्यमैत्री वातावरण, फुड फ्लो (प्राप्त गर्ने, भण्डारण गर्ने, पकाउने र सर्भ गर्ने) को अवस्था, कच्चा पदार्थ सफा गर्ने, भण्डारण गर्ने र पकाउने ठाउँको मापदण्डका बारेमा अन्तरक्रियात्मक प्रस्तुतिकरण गर्ने गरिएको छ।

    खाद्य सेवाको गुणस्तर प्रमाणीकरण गर्न सेवाको मूल्याङ्कन गर्ने प्रणाली विकास गर्ने महानगरपालिकाको योजना छ। यसले खाद्य स्वच्छताको पारदर्शिता र सुरक्षाको प्रत्याभूत गराउँछ। व्यवसायीलाई स्वच्छता मापदण्डहरूको बारेमा जानकारी दिएर जवाफदेही बनाउने महानगरपालिकाको दाबी छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend