काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा आजदेखि एक्स–रे सेवा प्रारम्भ भएको छ। जयबागेश्वरीस्थित वडा कार्यालय परिसरमा स्थापना गरिएको एक्स–रे कक्षमा १५० रुपैयाँमा नै अब एक्स–रे सेवा उपलब्ध हुनेछ।
सो सेवाको शुक्रबार महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
सो सेवा प्रारम्भ गर्न करिब ३२ लाख रुपैयाँ लागतमा अत्याधुनिक मेसिन खरिद गरिएको छ।

सेवा प्रारम्भ गर्दै उपप्रमुख डंगोलले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको पहुँचलाई सरल, सहज र गुणस्तरीय बनाउँदै लैजाने क्रममा एक्स–रे सेवा थप गरिएको बताइन्।
‘माग र आवश्यकताका आधारमा सेवालाई विस्तार र सुदृढ बनाउँदै लैजानेछौँ। आधारभूत स्वास्थ्य सेवाबाट कसैले पनि बञ्चित हुनु नपर्ने अवस्था बनाउँछौँ।’ उनले भनिन्।
त्यस क्रममा वडाध्यक्ष एवं समितिका संयोजक संगतले एक्स–रे सेवा सुरु गरेर वडाले प्रदान गर्ने स्वास्थ्य सेवामा एक खुड्किलो माथि उक्लिएको महसुस भएको बताए।
‘सार्वजनिक स्वास्थ्य सेवालाई सबल र गुणस्तरीय बनाउँछौँ। यो हाम्रो दृढता हो।’ उनले भने।

संगतले मानव संशाधन, प्रविधि र उपकरण थप गर्दै लैजाने योजना पनि सुनाए। उनका अनुसार महानगरपालिकाबाट सञ्चालन भएको एक्स–रे सेवा प्रदान गर्ने यो पहिलो वडा हो।
रामघाट प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गत तीन जना मेडिकल अधिकृतबाट सेवा प्रवाह भइरहेको जानकारी दिँदै स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसीले भने, ‘एक्से–रे सेवा हरेक दिन सञ्चालन हुनेछ भने भिडियो एक्स–रे सेवा हरेक शुक्रबार सञ्चालन हुनेछ।’
विभागको भण्डार (स्टोर) शाखा प्रमुख कमलप्रसाद भट्टराईका अनुसार वडा नम्बर ७, ८, १०, १२, १४, १६, १९, २६, २७ र ३२ गरी १० वटा वडामा एक्स–रे सेवा जडान हुँदैछ। यसका लागि १० जना रेडियोग्राफर नियुक्त गरिएको उनी बताउँछन्।
सेवा प्रारम्भ गरेपछि उपप्रमुख डंगोल, वडाध्यक्ष संगतसहित अधिकारीहरुले रामघाट प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रवाह हुने सेवाको निरीक्षण गरेका थिए।




