चितवन। चितवनका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये ६ जनाको मृत्यु छ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेका अनुसार गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये ६ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका रहेका छन्। उनीहरुमध्ये एक जना ८९, एक जना ८१, दुई जना ७०, एक जना ४२, एक जना ३९ वर्षका रहेका छन्।
सङ्क्रमितमध्ये १० जना महिला छन् भने सात जना पुरुष छन्। उनीहरुमध्ये तीन जना १५ वर्षमुनिका, पाँच जना १५ देखि ६० वर्षभित्रका र ९ जना ६० वर्षमाथिका रहेका छन्।
सङ्क्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाले खोप लगाए–नलगाएको बारे स्पष्ट नरहेको उनले जानकारी दिए। सङ्क्रमितमध्ये सात जना भरतपुर महानगरपालिकाभित्रका रहेका छन्।
यस्तै खैरहनी नगरपालिकाका चार जना, माडी नगरपालिकाका एक जना, रत्ननगर नगरपालिकाका एक जना, राप्ती नगरपालिकाका दुई जना, कालिका नगरपालिकाका दुई जना रहेका छन्।
यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो। यो लामखुट्टेले सङ्क्रमित सुँगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोक्यो भने मानिसमा सर्दछ।



