पर्वत। पर्वतमा एकौदिन ४ सय ५० जनाको मुटुको परीक्षण गरिएको छ।
शनिबार कुश्मानगरपालिका–१२ ठुलीपोखरीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एकैदिन ४ सय ५० जनाको मुटुको अवस्था परीक्षण गरिएको हो। कुश्मा आधारभूत अस्पताल ठुलीपोखरीको आयोजना र सेभ द हार्ट तथा नेपाल कार्डियोको प्राविधिक सहयोगमा शिविर गरिएको हो।
सो शिविरमा परीक्षण गरिएकामध्ये पाँच जनाको मुटुमा जटिल समस्या देखिएको कुश्मा नगरपालिका–१२ वडाध्यक्ष झलक रिमालले जानकारी दिए। उनका अनुसार ती पाँचै जनालाई थप उपचार र शल्यक्रियाका लागि काठमाडौँ रेफर गरिएको छ।
आर्थिक अभावका कारण मुटुसम्बन्धी समस्या बल्झाएर बसेका ग्रामीण नागरिकको समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको हो। शिविरमा कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमकी जिल्ला स्याङ्जाका बिरामीलेसमेत परीक्षण गराएका थिए।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा डा सुमन अधिकारी, डा सुतप यादव, बोधराज गौतमलगायतको टोलीले उपचार गरेको थियो।
बिरामीलाई मुटुरोगसम्बन्धी परामर्श र परीक्षण, निःशुल्क इसिजी, इको कार्डियोग्राफी र औषधिसमेत वितरण गरिएको थियो।
लाखौँ रुपैयाँ खर्च गरेर उपचार गर्नुपर्ने बिरामीले निःशुल्क सेवा पाउँदा ठूलो राहत मिलेको स्थानीय रमेश पौडेलले बताए। शिविरमा विशेषगरी विपन्न, दलित तथा वृद्धवृद्धा लाभान्वित भएको बताइएको छ।



