बिरगंज। बिरगंज महानगरपालिकाले घण्टाघर नजिक रहेको बीपी उद्यानमा एकाविहानै डोजर चलाएको छ।
आइतबार विहानै महानगरपालिकाले बीपी उद्यानमा अतिक्रमण गरि बनाइएको अस्थायी संरचना भत्काएर खाली गर्न डोजर चलाएको हो। यहाँ अस्थायी रुपमा तरकारी बजार संचालन हुँदै आएको छ।
अहिले महानगरपालिकाको नेतृत्वमा नगर प्रहरी तथा सशस्त्र प्रहरी बलको सुरक्षा घेराका बीच उद्यान क्षेत्रमा रहेका अस्थायी संरचनाहरू हटाउने काम भइरहेको छ।
सार्वजनिक स्थलको संरक्षण, सहरी व्यवस्थापनलाई सुदृढ बनाउने तथा उद्यानलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने उद्देश्यले खाली गराउने अभियान सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका अनुसार बीपी उद्यानलाई सार्वजनिक प्रयोजनका लागि व्यवस्थित, सुरक्षित र आकर्षक स्थलका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको छ। सोही अनुरूप आवश्यक संरचनागत सुधार र व्यवस्थापनका कामहरू चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिइएको छ।
बीपी उद्यान खाली गराइएसँगै स्थानीयवासीहरूले सार्वजनिक स्थल संरक्षणमा महानगरपालिकाले चालेको कदमलाई सकारात्मक रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
यसअघि महानगरपालिकाले पटकपटक सो उद्यान खाली गर्न अल्टिमेटम दिंदै आएको थियो।



