काठमाडौं। काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बुढानीलकण्ठ नगर अस्पतालले आफ्नो सेवाको दायरा बढाएर दैनिक तीन सय बिरामीको उपचार गर्दै आएको छ।
२०८१ बैशाखमा सुरुवात हुँदै गर्दा दैनिक तीन जनालाई उपचार सेवा प्रदान गर्दै सेवा प्रारम्भ गरेको सो अस्पतालले अहिले डेढ वर्षपछि दैनिक तीन सय बिरामीलाई उपचार गर्ने गरेर सेवा विस्तार गरेको हो।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले तीन जनाको उपचार गरेर सेवाको सुरुवात गरेको अस्पतालले तीन सय जनाको उपचार गर्ने अवस्था बनेको बताए।
`तीन जनाको उपचार गरेर सेवाको सुरुवात गरेको अस्पताल अहिले तीन सय बिरामीलाई दैनिक उपचार गर्न सक्ने अवस्थामा पुगेको छ, यो हाम्रो उपलब्धि सँगै नगरवासीका लागि खुसिको विषय हो।´ नगर प्रमुख अधिकारीले भने।
अधिकारीले सुरुमा अस्पताल चलाउन सक्दैनन् कि भनेर चौतर्फी शंका र आलोचना भएको भए पनि अहिले अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बहिरङ्ग सेवामा आफुलाई अब्बल बनाउँदै लगेको बताए।
अस्पतालले अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुवात गरेको छ। बर्थिङ सेन्टर सुरु भएपछि नगरपालिका र आसपास बसोवास गर्ने महिलाहरूले सहज रुपमा सेवा पाएको नगरपालिकाका उपप्रमुख अनिता लामाले जानकारी दिइन्।
उनका अनुसार शहरी क्षेत्रमा घरमा सुत्केरी गराउने अवस्थाको अन्त्य भइसकेको भन्दै बर्थिङ सेन्टरको सुरुवातले मातृशिुशु स्वास्थ्यमा सुधार आउने विश्वास समेत नगरपालिकाले लिएको छ।
अस्पतालमा सेवा लिने नागरिकको सङ्ख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमा अस्पतालले रु एक करोड १७ लाख आम्दानी गरेको थियो।
नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेलका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामै अस्पतालले रु एक करोड ८० लाख आम्दानी गरिसकेको छ। यो तथ्यांकले अस्पतालको आम्दानी बढ्दै गएको देखाएको छ।
पोखरेलका अनुसार हाल अस्पतालमा ७० जना कर्मचारी कार्यरत छन्। थप सेवाहरू विस्तार गर्ने, प्राविधिक जनशक्ति थप्ने र आवश्यक मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया चलिरहेको पोखरेल बताउँछन्।
यो अस्पताल सङ्घ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको अस्पताल हो।



