सुर्खेत। सुर्खेत आँखा अस्पतालमा आँखा उपचारको भरपर्दो सेवाको सुरुवात भएसँगै बिरामीले अन्यत्र धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ।
अस्पतालले उपविशिष्ट सेवा विस्तार गर्दै प्रदेशमै आँखाको उच्चस्तरीय सेवाको सुरुवात गरेपछि कर्णालीका लाखौं आँखाका रोगीले राजधानी धाउनु पर्ने बाध्यता हट्ने भएको हो।
पहिलोपटक अस्पतालले बाल–आँखा, रेटिना र जलविन्दु जस्ता जटिल र महँगा सेवा कर्णालीमै उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुर्याएको अस्पतालले जनाएको छ।

अस्पतालमा रेटिना सेवाको सुरुवात भइसकेको छ भने नवजात शिशुदेखि बालबालिका तथा जलविन्दुका बिरामीका लागि छुट्टै विशेषज्ञ सेवा सुरु हुने तयारीमा छ।
मेडिकल निर्देशक डा. आकांक्षा रानाका अनुसार कर्णालीका स्थानीयले आखाको उपचारका लागि अन्यत्र जानू पर्ने बाध्यता हट्नेछ।
“अब कर्णालीका बासिन्दाले आँखाको उपचारका लागि काठमाडौंको टिकट काट्नुपर्दैन, यही सेवा उपलब्ध हुन्छ।” रानाले भनिन्।

अन्धोपनको जोखिम उच्च–उपचारचाहिँ टाढा
कर्णालीमा दृष्टिविहीनताको दर देशकै उच्च मानिन्छ। १६ लाखभन्दा बढी जनसंख्या रहेको कर्णाली प्रदेशमा आँखाको उपयुक्त सेवा नहुनु विडम्बना बनिरहेको थियो।
यस प्रदेशमा १ प्रतिशत (५० बर्ष माथिका) मानिसमा आँखाको गम्भिर समस्या रहेको पाईन्छ। यही कारण अस्पतालले तिलगङ्गा आँखा प्रतिष्ठानमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राविधिक तालिम पठाएर सेवा विस्तारको बाटो छिचोल्नु परेको हो।

ज्योति बढ्दो–तर ठाउँ घट्दो
स्वीस रेडक्रसको सहयोगमा संचालित सुर्खेत आँखा अस्पताल कर्णालीका १० जिल्लाको मुख्य आश्रयस्थल हो। अछाम, बाजुरा, बझाङबाट समेत बिरामी आउँने गरेको अस्पतालसँग तथ्यांक छ। तर सेवा विस्तारसँगै सबैभन्दा ठूलो चुनौती—स्थान अभाव रहेको अस्पताल प्रशासनको दुखेसो छ।
नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्य भन्छन् —“बिरामीको चाप असाध्यै बढेको छ। अब संरचना विस्तार अनिवार्य बन्यो।” अस्पतालले प्रदेश सरकार र बीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गर्दै भवनमा थप तला निर्माण अघि बढाएको छ।
एक वर्षमै एक लाखभन्दा बढी बिरामी
गत आर्थिक वर्षमा एक लाखभन्दा बढीले यहाँ उपचार लिएका छन्। करिब ४ हजार मोतियाविन्दु शल्यक्रिया सम्पन्न भएको छ। अस्पतालमा ३ नेत्र–विशेषज्ञसहित ४० भन्दा बढी स्वास्थ्यकर्मी कार्यरत छन्।
यस अस्पतालमा ‘फाको’ प्रविधिबाट मोतियाविन्दु शल्यक्रिया, मधुमेहजन्य आँखाका समस्या परीक्षण, याग–लेजर उपचार, आँखाको अल्ट्रासाउण्ड, रेटिना स्क्यानजस्ता आधुनिक सुविधा उपलब्ध छन्।
गाउँ–गाउँमा पुग्दै ‘मोबाइल ज्योति’
अस्पताल केवल भवनभित्र सीमित छैन—दुर्गम गाउँमा आँखाशिविर लिएर पुग्छ समेत। सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यानलगायत क्षेत्रमा नौवटा उपचार केन्द्र स्थापना गरेर ग्रामीण नागरिकलाई घरमै नजिक सेवा पुर्याइएको छ। विद्यालय–विद्यालयमा आँखा परीक्षण कार्यक्रमले विद्यार्थीको सिकाइ सुधारमै सकारात्मक प्रभाव पारिरहेको छ।
प्रदेशकै ‘आँखा राजधानी’ बन्दै सुर्खेत
सफाइ, सजिलो सेवा, आधुनिक उपकरण र मानिसको विश्वास, यी सबैले सुर्खेत आँखा अस्पताललाई कर्णालीको प्रमुख आँखा चिकित्सा केन्द्रमा रूपान्तरण गरिरहेको छ।
उपविशिष्ट सेवा विस्तारसँगै अब सुर्खेत अस्पताल प्रदेशकै आँखा राजधानी बन्ने भएको हो। सुर्खेत आँखा अस्पतालले यो कदमसँगै कर्णाली प्रदेशमा आँखासम्बन्धी उपचारको नयाँ युग—सुगम, सुरक्षित र विशेषज्ञ सेवा—सुरु गर्ने भएको हो।




