काठमाडौं। सरकारले राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत हिजो र आज (कात्तिक २० र २१ गते) बालबालिकालाई भिटामिर ए र जुकाको औषधी खुवाइरहेको छ।
७५३ वटै स्थानीय तहमा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए तथा १ वर्ष देखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउने कार्यक्रम रहेकाले आफ्ना बालबालिकालाई समेत खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।
७५३ वटै स्थानीय तहका पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।
६ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि पनि खुवाइन्छ।
यो कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
यस्तै मन्त्रालयले ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई दिनको एक प्याकेट बालभिटा ६० दिन सम्म खुवाउन पनि आग्रह गरेको छ।
मन्त्रालयले थप जानकारीका लागि महिला समुदायिक स्वास्थ्य स्वयंसेविका, तथा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न पनि सबैमा अनुरोध गरेको छ।



