काठमाडौं। तिहारमा दिदीबहिनीले दाजुभाइलाई दिने मुख्य उपहार हुन् ड्राइ फ्रुट्स। जसलाई भाई मसला पनि भनिन्छ। तिहारमा खाइने मसलाले शरीरलाई विभिन्न रोगबाट बचाउँछ भने वृद्धि विकासमा पनि सहयोग गर्छ। विश्वभर विशेषगरी ६ प्रकारका ड्राइ फ्रुट्स बढी प्रयोग हुन्छन्। तिमध्ये कुन कति फाइदाजनक छन् त?
काजु
काजुमा अन्य ड्राइ फ्रुट्सभन्दा कम चिल्लोपना हुन्छ। मुटुको लागि फाइदाजनक मोनोस्याचुरेटेड फ्याट हुन्छ। मोनोस्याचुरेटेड फ्याटले रगतमा कोल्स्ट्रोलको मात्रा घटाउँछ र मुटुसम्बन्धी रोगहरूबाट बचाउन मद्दत पुर्याउँछ।
यस्तै काजुमा हुने मिनरल्स, जिंक, म्याग्नेसियम, आइरनजस्ता तत्वले स्मरण शक्ति बढाउन पनि मद्दत गर्दछ। दिउँसोका खाजासँगै ४ देखि ६ वटा काजु खानु स्वास्थ्यवर्धक हुने पोषणविद्हरू बताउँछन्।
किसमिस
किसमिस एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत हो। यसमा क्यासियम म्याग्नेसियम र भिटामिन के पनि पाइन्छ। जसले हड्डी बलियो बनउन महत्वपूर्ण भूमिका खेल्दछ। फाइबर प्रशस्त पाइने हुँदा यसले पाचन प्रणालीलाई राम्रो बनाउन मद्दत गर्छ भने एन्टिअक्सिडेन्टले मुटुलाई फाइदा पुर्याउँछ।
साथै किसमिसमा पाइने प्राकृतिक ग्लुकोज उच्च रक्तचाप र मधुमेहका बिरामीको लागि विशेष फाइदाजक हुन्छ। एक स्वस्थ व्यक्तिले दैनिक २० देखि ३० ग्राम किसमिस खानु फाइदाजनक हुन्छ।
पेस्ता
पेस्तामा पाइने क्यालोरी,भिटामिन इ, बी, मिनरल्स, फोस्फरस जस्ता तत्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यसले रगतलाई जम्न नदिने हुनाले मुटुसम्बन्धी रोगबाट समेत बचाउन मद्दत गर्दछ। पेस्तालाई स्न्याक्सको रूपमा अन्य खानेकुरासँग ५० देखि ८५ ग्रामसम्म दैनिक खान सकिन्छ।
आल्मण्ड
आल्मण्ड मुख्यगरी शरीरको तौल बढाउन बढी खाइने गरेको पाइन्छ। यसमा फाइबर, भिटामिन इ तथा मोनोस्याचुरेटेड फ्याट पाइन्छ। यसले मुटुसम्बन्धी रोगबाट बचाउने मात्रै होइन युवा देखाउन पनि मद्दत गर्दछ। यसलाई काटेर दहीसँग मिसाएर खाँदा छालालाई चम्किलो बनाउन पनि सहयोग पुग्दछ। दैनिक ८ देखि १० वटासम्म आल्मण्ड खानु फाइदाजनक हुन्छ।
बदाम
जाडोयाममा सहजै उपलब्ध हुने बदाममा हाइ क्यालोरी पाइन्छ। साथै यसमा पाइने प्रोटिन, फाइबर, भिटामिन बी जस्ता तत्वले रोग प्रतिरोध प्रणालीलाई बलियो बनाउँछ भने मुुटुसम्बन्धी रोगहरूबाट पनि बचाउँछ। विशेषगरी गर्भमा रहेको शिशुको वृद्धि विकासका लागि बदामको महत्वपूर्ण भूमिका हुने अध्ययनहरूले देखाएका छन्। दैनिक ग्राम २८ ग्राम बदाम खानु स्वास्थ्यवर्दक हुन्छ।
ओखर
ओखरले शारिरीक र मानसिक वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। दैनिक दुई वटा ओखर खानाले शरीरका सेलहरूलाई सन्तुलनमा राख्दछ भने क्यान्सरको जोखिमबाट पनि जोगाउने विभिन्न अध्ययनले देखाएका छन्। विशेषगरी बालबालिकाको मस्तिष्क विकास र रोग प्रतिरोधी क्षमता वृद्धिका लागि ओखर महत्वपूर्ण ड्राइ फ्रुट मानिन्छ।



