काठमाडौं। सन् २०१९ यता विश्वभर विकराल बन्दै गएकाे छ मानसिक स्वास्थ्य समस्या। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका करिब १ अर्ब १० कराेड जनसंख्या याे समस्यासँग जुधिरहेका छन्। मानसिक स्वास्थ्य ठिक राख्न विशेषगरी खानपान र जीवशैली सही अपनाउनुपर्ने विश्व स्वास्थ्य संगठनकाे ठहर छ।
मानिसलाई खुसी तथा आनन्दित बनाउन ‘सेरोटोनिन हर्मोन’को सिधा सम्बन्ध खानपानसँग भएको मेन्टल हेल्थ साइन्सले बताउँछ। ९० प्रतिशत सेरोटोनिन पेटबाट अर्थात् खानपानबाट उत्पादन हुने विभिन्न अध्ययनहरूले देखाएका छन्।
चिकित्सकहरुका अनुसार सन्तुलित खाना मात्रा मिलाएर खानु र पेट खाली भएपछि मात्रै खाने बानी गर्नाले शरीर मस्तिष्कलाई हल्का र स्वास्थ राख्दछ। कम प्रशोधित तथा प्राकृतिक खाना, सामान्य फलफूल, तरकारी, नट्स तथा टुसा उम्रिने खालका खानेकुराले मस्तिष्कलाई फाइदा गर्छन्।
यस्तै स्वस्थ मस्तिष्कका लागि निन्द्रा अत्यावश्यक कुरा हाे। निन्द्राकाे समयमा एन्टीस्ट्रेस अर्थात् तनाव कम गर्ने हर्मोनहरु उत्पादन हुने हुनाले पर्याप्त निदाउनु अति आवश्यक हुन्छ।
युवा उमेरमा दैनिक सातदेखि आठ घण्टा निदाउनु पर्छ। सुरुका केही घण्टा गहिरो निद्रा लिनुपर्छ त्यसो हुँदा पछिल्ला प्रहरमा बेलाबेला ब्युँझिए पनि असर पर्दैन।
एउटै समयमा सुत्ने र एउटै समयमा उठ्ने बानीले मानसिक स्वास्थ्यमा फाइदा पुग्छ। सुत्नुअघि आफ्नो मनलाई नकारात्मक प्रभाव पार्ने कुराकानी गर्नु हुँदैन र त्यस्ता भिडियोहरू पनि हेर्नु वा पुस्तक पढ्नु हुँदैन। राति सुत्नुअघि खाने बानी पनि स्वस्थ निन्द्राको बाधक भएको चिकित्सकहरु बताउँछन्।
यसबाहेक दैनिक व्यायाम, याेग, ध्यान पनि स्वस्थ मानसिक अवस्थाका आधारहरु हुन्। जति शारीरिक रुपमा कम सक्रिय रह्याे उति नै मानसिक स्वास्थ्य समस्याकाे जाेखिम बढ्दछ।



