काठमाडौं। असोज १७ र १८ गतेको भारी वर्षापछि बाढी-पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन्।
नेपाल प्रहरीका अनुसार कान्तिलोकपथ अन्तर्गत ललितपुरमा पर्ने गोदावरी नगरपालिका ६ तिनपाते र टिकाभैरबको बिचमा पर्ने सडक पहिरोका कारण अबरुद्ध छ।
बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशी तथा सिन्धुलीको नेपालथोक सडकखण्डमा पहिरोका कारण अबरुद्ध छ।
यसैगरी कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सो सडक अबरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैनन्।
यस्तै पासाङल्हामु राजमार्ग अन्तर्गत रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्याएकाले सवारी आवागमन अवरुद्ध छ।



