काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले सोमबार सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरू सञ्चालन गर्न निर्देशन दिएका छन्।
विगत दुई दिनदेखिको लगातारको वर्षाका कारण काठमाडौँ प्रवेश मार्गहरू अवरुद्ध भई उद्धार तथा राहतमा ध्यान केन्द्रित गर्न असोज १९ र २० गते दुई दिन सार्वजनिक बिदा घोषणा गरिएको थियो।
तर, मौसममा क्रमिक सुधार आएपछि प्रशासनले (सोमबार) बिहान १० बजेबाट कार्यालय खुला हुने जनाएका हुन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार राति जारी गरेको सूचनामा भनिएको छ, ‘मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२/०६/ २० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समयसम्म काठमाडौँ जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरू, संस्थानहरू र स्थानीय तहहरूबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख्न तथा तदनुरूप कर्मचारीहरूको उपस्थितिको व्यवस्था मिलाउन अनुरोध छ।’
यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि आइतबार नै सूचना निकाल्दै सरकारी कार्यालय/ निकाय समेतलाई २० गतेदेखि सार्वजनिक सेवाहरु सुचारु गर्न भनेको हो।
यसअघि भारी वर्षा हुँदै क्षती बढ्न सक्ने आँकलनपछि सरकारले २० गतेसम्म बिदा दिने निर्णय गरेको थियो। तर आजै गृह मन्त्रालयले विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष रूपमा संलग्न नरहेका जिल्लाहरुलाई सार्वजनिक सेवा नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएसँगै स्थानीय प्रशासनले सुचना जारी गर्दै सरकारी कार्यालय खुला रहने बताएका हुन्।
यससँगै काठमाडौँका सरकारी कार्यालयहरू भोलिदेखि नियमित रूपमा सञ्चालन हुने छन्।



