विराटनगर। सप्तकोशीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजमा `रेड अलर्ट´ जारी गर्दै ५६ वटै ढोका खोलिएको छ।
कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक पुगेको छ। पानीको बहाव बढेपछि `रेड अलर्ट´ जारी गर्दै सबै ढोका खोलिएको हो।
अहिले कोशी ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्वरूपले प्रतिबन्ध लगाइएको छ। यस्तै पानीको सतह पुल सम्म आएको छ।
गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो। यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो।



