काठमाडौं। सिन्धुपाल्चोक जिल्लाभर असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जल तथा मौसम विज्ञान विभागले भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान जारी गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिल्लाभर राति सवारीसाधन चलाउन रोक लगाएको हो।
जसअनुसार असोज १७ गतेदेखि २० गतेसम्म साँझ ७ देखि बिहान ५ बजेसम्म अरनिको राजमार्गसहित जिल्लाभित्रका सबै मुख्य तथा सहायक सडकमा सवारी आवागमन बन्द हुनेछन।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सम्भावित बाढी–पहिरोको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा रातका समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
यस्तै अन्य समयमा पनि अवस्था हेरेर राजमार्ग आकस्मिक रुपमा बन्द गर्न सकिने निर्णय भएको छ।
तर दमकल, एम्बुलेन्सजस्ता अत्यावश्यक सेवामा प्रयोग हुने साधन भने सुरक्षित भएर चल्न पाउनेछन् ।
नदी किनाराका बस्तीका बासिन्दालाई सुरक्षित रहन अपिल गर्दै सुरक्षा परिचालनको तयारी पूरा भएको प्रशासनले जनाएको छ।
बैठकले स्थानीय तह, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य संस्था र स्वयंसेवकलाई विपद् व्यवस्थापनमा पूर्ण तयारी अवस्थामा रहन निर्देशन पनि दिएको छ।



