बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौँ महानगरको पहल : गोठदेखि ओठसम्म दुध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छता

काठमाडौँ महानगरको पहल : गोठदेखि ओठसम्म दुध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छता

images
२०८२ आश्विन १२ गते, आइतवार
२०८२ आश्विन १२ गते, आइतवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले उपभोक्ताले स्वच्छ दूध र दुग्धजन्य पदार्थ उपभोग गर्न पाउनुपर्ने बताउँदै गोठदेखि ओठसम्म दुध र दुग्धजन्य खाद्य पदार्थको स्वच्छता सम्बन्धि कार्यक्रम आयोजना गरेको छ।

    images

    महानगरपालिकए व्यवसायीको व्यवसायलाईसमेत सुदृढ तथा व्यवस्थित बनाउने उद्देश्यले ‘स्वच्छ खाना, उत्कृष्ट व्यापार’ नारासहित डेरी पसल र साना दूध तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारका लागि क्षमता विकास कार्यक्रम आयोजना गरेको हो।

    images

    कार्यक्रममा दूध र दुग्धजन्य व्यवसायसँग सम्बन्धित कानुनी प्रावधान, व्यवसाय सञ्चालनमा अपनाइएका र अपनाउनुपर्ने अभ्यास, खाद्य स्वच्छता कायम गर्ने तरिका, बिक्री–वितरण र प्रशोधन स्थलको अवस्था, आवश्यक भौतिक संरचना, लेबलिङ प्रक्रिया, उत्पादनको स्वाद परीक्षणलगायत विषयमा प्रशिक्षण दिइएको थियो। प्रशिक्षकहरूले विशेष गरी जनावरबाट उत्पादित दुग्धजन्य पदार्थमा 'गोठदेखि ओठसम्म' खाद्य स्वच्छता कायम गर्नुपर्नेमा जोड दिइएको थियो।

    विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार दूषित खानपानका कारण विश्वभर करिब ६० करोड मानिस बिरामी पर्ने र वार्षिक ४ लाख २० हजारको मृत्यु हुने गरेको तथ्य प्रस्तुत गर्दै रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिइयो।

    खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीले काठमाडौँ महानगरपालिकाले खाद्य स्वच्छता सम्बन्धी सचेतना कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए।

    'चाडबाडको समयमा दुग्धजन्य वस्तुको अत्यधिक खपत हुन्छ। हाम्रा घरमा बालबालिका र वृद्धवृद्धाले यस्ता वस्तु उपभोग गर्छन्, जो स्वास्थ्यको दृष्टिकोणले सबैभन्दा जोखिममा हुन्छन्। त्यसैले, उहाँहरूले उपभोग गर्ने खाद्यवस्तु सुरक्षित हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखिको प्राथमिकता हो। यसपटक चाडबाडमा विशेष ध्यान दिएर यो कार्यक्रम आयोजना गरेका हौँ।´ गिरीले भने।

    उनले चाडबाडमा दुग्धजन्य पदार्थको ठूलो परिमाणमा किनबेच हुने तथा धेरै परिमाणमा व्यवसाय हुँदा स्वच्छता र भण्डारणमा ध्यान नपुग्न सक्ने बताउँदै व्यवसायीहरूलाई पनि प्राविधिक कुराहरूको ज्ञान दिन कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

    काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका विभागीय प्रमुख नुरनिधि न्यौपानेले महानगरपालिकाले उपभोक्ताको हितका लागि खाद्यस्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको बताए।

    “महानगरपालिकाले उपभोक्ताको हितका लागि खाद्य स्वच्छता कायम राख्न विविध कार्यक्रम गर्दै आएको छ, सोझै अनुगमन गर्नुभन्दा अघि व्यवसायीका कुरा पनि सुनौँ, उहाँहरूले के–कसरी व्यवसाय सञ्चालन गर्नुभएको छ, त्यो बुझौँ र सुधार गर्नुपर्ने कुरामा सचेत गराऔँ भन्ने उद्देश्यले कार्यक्रम राखिएको हो।” न्यौपानेले भने।

    उनले दुध र दुग्धजन्य पदार्थ प्रायः सबै उपभोक्ताले उपभोग गर्ने भएकाले सानो गल्ती हुँदा पनि ठूलो संख्यामा मानिस बिरामी पर्न सक्ने सम्भावना रहने हुँदा दुधमा प्रयोग हुने पानीको गुणस्तर, विक्री–वितरणका लागि प्रयोग हुने प्लास्टिक वा रबरको गुणस्तर, भण्डारणको तरिका आदिमा व्यवसायीहरू निकै सचेत हुनु ओअर्ने बताए।

    “संक्रमण सानो लापरबाहीबाट हुने भएकाले यो उपभोक्ताको मात्र होइन, व्यवसायीको पनि हितको कुरा हो। त्यसैले महानगर अनुगमन गर्ने भनेर व्यवसायीलाई तर्साउन चाहँदैन, हामी सबैले आफ्नो कर्तव्य र जिम्मेवारी नभुलौँ।” 

    कार्यक्रममा प्रशिक्षार्थीका रूपमा सहभागी दुग्ध विकास संस्थानकी प्राविधिक अलिसा उलले प्रशिक्षण उपयोगी भएको बताइन्।

    “महानगरले दुध र दुग्धजन्य व्यवसायीलाई दिएको यो प्रशिक्षण अत्यन्तै उपयोगी छ। किसानदेखि उपभोक्तासम्म सबै तहमा स्वच्छता सम्बन्धी ज्ञान लिन र दिन जरुरी छ। गोठदेखि ओठसम्म नै स्वच्छता कायम गर्ने सोच अपनाउनुपर्छ। सबै सरोकारवाला आ–आफ्नो क्षेत्रबाट जागरूक भएमा लक्षित उपलब्धि हासिल गर्न सकिन्छ।”

    त्यस्तै अर्का प्रशिक्षार्थी नेपाल डेरी एसोसिएसनका केन्द्रीय सल्लाहकार व्यवसायी रमेश सञ्जेलले व्यवसायीलाई आफूले उत्पादन गर्ने सामानको गुणस्तरबारे जानकारी दिन कार्यक्रम महत्त्वपूर्ण भएको बताए।

    “अहिले व्यवसाय केही अस्तव्यस्त देखिएको छ। यसलाई व्यवस्थित गर्नका लागि महानगरको यो पहल निकै राम्रो छ। साना डेरी व्यवसायीलाई आफूले उत्पादन गर्ने सामानको गुणस्तरबारे थाहा हुँदैन। यस्तो प्रशिक्षणले साना व्यवसायीलाई आफ्नो उत्पादनको गुणस्तर बुझ्न र सुधार गर्न सहयोग पुर्‍याउँछ। साथै, महानगरले बोलाउँदा व्यवसायीको आत्मबल पनि बढेको छ।”

    खाद्य सुरक्षा प्रशिक्षक एवं अडिटर नवीन कर्माचार्यले पनि व्यवसायीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिए।

    “अनुगमनको उद्देश्य गल्ती पत्ता लगाएर कारबाही गर्नु मात्र होइन, सुधार गर्नु हो भन्ने कुरा बुझ्न जरुरी छ। महानगरपालिकाले गरेको यो पहल अत्यन्त प्रशंसनीय छ। देशका अन्य पालिकाले पनि यस्तै पहल गरे व्यवसायी सचेत हुने र उपभोक्ताले स्वच्छ खाद्यवस्तु उपभोग गर्न पाउने अवस्था छिट्टै आउँछ।” कर्माचार्यले भने।

    नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीपकप्रसाद धमलाले प्रशिक्षण निरन्तर हुनुपर्ने आवश्यकता औँल्याए।

    “प्रत्येक वर्ष नयाँ व्यवसायी थपिन्छन्, नयाँ प्रविधि पनि भित्रिन्छ। मानिसले जानेर पनि कतिपय कुरा व्यवहारमा अपनाउँदैनन् । त्यस्ता व्यक्तिलाई यस्ता प्रशिक्षणले घचघच्याउने भएकाले समय समयमा यस्तो तालिम हुनु जरुरी छ।”

    त्यस्तै, नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य रविशरण थापाले वडास्तरमै कार्यक्रम पुर्याउनु परे बताए।

    “मानिसहरू अहिले विभिन्न रोगका कारण मासुजन्य भन्दा शाकाहारी पदार्थतर्फ आकर्षित भएका छन्। महानगरले खाद्य स्वच्छतासम्बन्धी सुरु गरेको अभियानलाई यहाँ मात्र सीमित नराखी, साना–ठूला सबै व्यवसायीलाई प्रत्येक वडास्तरमै तालिम दिन सकियो भने अझ राम्रो उपलब्धि मिल्ने थियो।”

    डेरी पसल तथा दुग्ध पदार्थ प्रशोधन व्यवसायी सुधारका लागि आयोजित यस क्षमता विकास कार्यशालामा विज्ञ सदस्य जीवनप्रभा लामा, वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, नवीन कर्माचार्य, डा. आलोक श्रेष्ठ, अभितोष ढुंगेल, निर्बेक श्रेष्ठ, राकेश कुश्माललगायतका खाद्य स्वच्छता विज्ञहरूले प्रशिक्षण दिएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend