काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौंको सडक सुरक्षालाई मजबुत त ब्यवस्थित बनाउन ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।
महानगरपालिकाको शहरी व्यवस्थापन विभागअन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनामार्फत ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका ट्राफिक कोन र रिट्र्याक्टेबल बार सडकमा राखिएको हो। यी सामाग्री नेपालमा नै उत्पादन भएका हुन्।
महानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ मा नै यी सामाग्रीहरू खरिद गर्ने याेजना भएतापनि विभिन्न प्रक्रृयागत चुनाैतीका कारण २०८१/०८२ मा खरिद गरिएको हो। जसले ट्राफिक व्यावस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकुल निधिका अनुसार, ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटर सम्मको छ।
पहिले पहिले सडकमा राखिने कोन भन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको उनी बताउँछन्। यी कोनहरू तल प्वालरहित र ३ देखि ५ केजी तौलका छन्। यसले मोटरसाइकल चालकहरूले सडकमा राखिएको कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने उनी बताउँछन्।
‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन्। एक सेटमा दुई ट्राफिक कोन र एउटा २ मिटर लामो टेलिस्कोपिक रिट्र्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ। यसरी १,२५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र १,२५० बार छन् ।’ निधिले भने।
उनका अनुसार ती सामग्रीहरू काठमाडौंका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्ने छ।
ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन नै ट्राफिक व्यवस्थापनको आधार हो। सहायक विज्ञ निधिका अनुसार पहिलो चरणमा बुधबार यी कोनहरू तीन स्थानमा प्रयोग गरिएको छ।सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोडमा ती सामग्री राखिएको हो।
कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरिएको महानगरपालिका बताउँछ।
‘ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो। सहकार्य नै यसको आधार हो।’ सहायक विज्ञ निधिले थपे, ‘यी कोनहरूको ब्याचवाइज प्रयोग गरी सरसफाई गरेर पुन: प्रयोग गर्न सकिन्छ।’



