काठमाडौं। काठमाडौँ महानगरपालिकाले दुर्गम क्षेत्रका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएको छ।
काठमाडौँ महानगरपालिकाले मंगलबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रम आयोजना गर्दै ती ३५ गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो।
महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले मंगलबार पहिलो चरणमा दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको जानकारी दिए।
महानगरपालिकाले एम्बुलेन्स वितरणका लागि आवेदन माग गरेकोमा विभिन्न स्थानीय तहबाट आएको आवेदन र बनाइएको मापदण्डका आधारमा सुविधासम्पन्न एम्बुलेन्स उपलब्ध गराइएको उनले जानकारी दिए।
एम्बुलेन्स उपलब्ध गराउँदा स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिएर सातै प्रदेशलाई समावेश गरिएको महानगरले जनाएको छ।
काठमाडौं महानगरपालिकाले प्रदान गरेको एम्बुलेन्सबाट ग्रामीण स्वास्थ्य सेवामा टेवा पुग्ने तथा ठूलो सहयोग हुने सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाँ बताउँछन्, 'हाम्रा लागि यो ठुलो सहयोग हो।' उनले भने।
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले एम्बुलेन्स वितरण काठमाडौं महानगरको सम्बन्ध विस्तारको नमुना भएको बताए।
'यो जनता जनता विचको मधुर सम्बन्ध विकासको नमूना हो।' उनले भने।
वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउने बताए। उनले कार्यविधिले सबैको पहुँचमा समान अवसर दिनेसमेत बताए।
आ.व. २०८२/८३ को बजेट तथा कार्यक्रममा व्यवस्था गरेअनुसार देशभरका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको हो।
यसअघि आ.व. २०८०/८१ को बजेटमा समेत निरन्तरता दिइएको कार्यक्रमअन्तर्गत नगरसभाको निर्णयबाट ३५ थान ‘बी-क्लास’ एम्बुलेन्स खरिद गरी वितरण गर्ने तयारी भएको थियो।
बोलपत्र प्रक्रियामार्फत श्री अग्नि इन्करपोरेटेड प्रा.लि.सँग सम्झौता भई आपूर्ति भएका एम्बुलेन्सलाई प्राविधिक निरीक्षण टोलीमार्फत परीक्षण गरि प्रतिवेदन प्राप्त भएपछि वितरण प्रक्रिया अघि बढाइएको हो।
आ.व. २०८१/८२ मा समेत रु. ८ करोड १० लाख विनियोजन भई सोही गाउँपालिकामा एम्बुलेन्स सहयोग गरिएको र चालु आ.व. २०८२/८३ को नीति तथा कार्यक्रममा पनि निरन्तरता दिइँदै, बजेट शीर्षक नं. २५३१२ मा रु. ८ करोड १० लाख रकम छुट्याइएकाे छ।
महानगरले प्राप्त अनुरोध तथा मापदण्डका आधारमा छनोट भएका गाउँपालिकाका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा आधारभूत अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको थियो।






