काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहाड नै सडकमा खसेको छ। विगत केहीदिनदेखि निरन्तर पहिरोले अबरुद्ध हुँदै आएको सो सडक आज फेरि पहिरो खसेपछि पुर्णरुपमा अबरुद्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोबिन्द पुरीले मंगलबार दिउँसो ३:२० बजे खसेको पहाडसहित खसेको सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए।
एसपी पुरीका अनुसार पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने जोखिम छ। हाल सो स्थानमा आइपुगेका सवारीसाधनलाई फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको उनी बताउँछन्।
सडक डिभिजन कार्यालय चितवनले ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले तत्कालै पन्छाउन कठिनाइ हुने बताएको छ।
तुइनखोलामा गत शुक्रबार साँझदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ। निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो।
मंगलबार बिहान समेत धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो। पहिरोका कारण झन्डै १० घण्टापछि अपरान्हदेखि सडक दुई तर्फी सञ्चालनमा ल्याइएको थियो।
नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदा सो सडक हुँदै दसैंको मुखमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरु अप्ठ्यारोमा परेका छन्।



