काठमाडौं। पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकखण्डमा सोम्बार राति झरेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको छ।
सोमबार राति बेनीघाट रोराङ गाउँपालिका-१०, बाँदरेमोडमा सुख्खा पहिरो जाँदा दुईतर्फी नै सडक अबरुद्ध भएको छ। सो सडक अबरुद्ध हुँदा काठमाडौंबाट बाहिरिएका र काठमाडौं आउदै गरेका सवारीसाधन बिचमानै रोकिएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङले पहिरो पन्छाउनका लागि मंगलबार बिहानैबाट काम सुरु गरिएको जनाएको छ। तर पहिरो पन्छाउन दिनभर लाग्न सक्ने भन्दै प्रहरीले बैकल्पिक सडक प्रयोग गर्न पनि यात्रुहरूलाई आग्रह गरेको छ।
यसअघि मुग्लिन-नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार पहिरो खस्दा झन्डै ३ दिन सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। दशैका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरु पहिरोका कारण मारमा परेका छन्।



