काठमाडौं। सरकारले दशैं तिहार लगायतका चाडबाडलाई लक्षित गर्दै आजबाट देशभर चल्ने यात्रुवाहक सवारीसाधनका लागि रुट परमिट खुला गरेको छ।
यात्रुलाई गन्तव्यमा पुग्न सहज होस् भन्दै सरकारले आजबाट देशभरका सडकमा गुड्ने सार्वजनिक सवारीसाधनहरुका लागि रुट परमिट खुला गरेको हो। रुट परमिट खुला भएपछि जुनसुकै स्थानमा चल्ने सार्वजनिक सवारीसाधन जुनसुकै स्थानमा जान सक्ने छन्।
यातायात व्यवस्था विभागले असिज ६ गतेदेखि असोज २२ गते (पूर्णिमाकाे पर्सिपल्ट) सम्म यो ब्यवस्था लागू हुने बताएको छ।
विभागले बुटवल–नारायण घाट सडक खण्डको दाउन्ने क्षेत्रमा दशैं अवधिभर ठुला मालवाहक सवारी (१२ चक्के वा सोभन्दा माथि) सञ्चालन नगर्ने तर खाद्यान्न लगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीलाई भने निरन्तर सञ्चालन गर्न दिइने जनाएको छ।
यस्तै बाटाे अवरुद्ध बनेका कारण मुग्लिन -नारायणगढ सडक खण्ड लगायतमा सवारीकाे जाम बढेकाे र आजदेखि देशभर रुट परमिट खुला रहेकाले सबै निकायलाई सहजिकरणका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघले आग्रह गरेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सराेज सिटौलाले सवारीसाधनहरूलाई यात्रुको चाप बढी हुने स्थानहरूमा सबै निकायले सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
सरकारले दशैंलाई लक्षित गर्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनलाई नागढुङ्गा सुरुङमार्गबाट बाहिरिने ब्यवस्था समेत मिलाइसकेको छ।



