चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आइतबार बिहानैदेखि सुरु भएको छ। यो समाचार तयार पार्दासम्म सो सडक अबरुद्ध भएको ३८ घण्टा भइसकेको छ।
शुक्रवार साँझ साँढे ६ बजेबाट खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको हो। सो सडकखण्ड अबरुद्ध हुँदा काठमाडौं आउन हिडेका हजारौं यात्रु अलपत्र परेका छन्।
पहिरो पन्छाउनका लागि शुक्रबारसमेत प्रयास भएकोमा ढुंगा खस्नेक्रम नरोकिएपछि सडक सुचारु गर्न नसकिएको सडक डिभिजन कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए। आज बिहानबाट पहिरो पन्छाउने काम थालिएको उनी बताउँछन।
लामिछानेका अनुसार पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ। पुनः पहिरो नखसे आज दिउँसोसम्ममा सडक सञ्चालनमा ल्याउन सकिने उनी बताँछन।
करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ। पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन्।
पहिरोले सडक अबरुद्ध भएपछि सो सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।



