काठमाडौं। पहिरोका कारण शुक्रबार साँझ साँढे ६ बजेदेखि अबरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलाउने प्रयास थालिएको छ। थप पहिरो नगए अबको करिब ४ घण्टामा अबरुद्ध सडक खुल्ने सम्भावना छ।
सो सडक खण्डमा पर्ने तुइनखोलामा खसेको पहिरो हटाउन केहीबेर अघिबाट तीन वटा लोडर र एउटास्काभेक्टर परिचालन गरिएको हो। तर अझै ढुंगा खस्ने क्रम रोकिएको छैन।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेले पहिरो हटाउने प्रयास थालिएको र निरन्तर काम गर्ने अवस्था बने चार घण्टामा सडक सुचारु हुनसक्ने जानकारी दिए।
आज बिहानैदेखि पहिरो हटाउने प्रयास निरन्तर रहेको भएपनि पहिरो नरोकिएपछि प्रयास सफल भएको थिएन।
पहिरोका कारण अहिले सो सडक खण्डमा हजारौं यात्रु अलपत्र परेका छन्। स्थानीय प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्नसमेत यात्रुहरूलाई आग्रह गरिरहेको छ।



