तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेकोे जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अब एक सातामा ३० जनाको डायलासिस हुने भएको छ।
जिपी कोइराला लायन्स हेमोडायलासिस युनिटमा हाल एक सातामा १५ जनाको डायलासिस हुँदै आएकोमा थप सात वटा उपकरण जडान गरेर बुधबारदेखि ३० जनाको डायलासिस हुने गरि सेवा सुरु गरिएको हो।
केन्द्रका बोर्ड सदस्य त्रिलोचन लम्सालले मिर्गौला पीडितको माग बमोजिम डायलासिस क्षमताको विस्तार गरिएको जानकारी दिए।
केन्द्रलाई डायलासिस उपकरण लायन्स क्लब अफ नेपालले अनुदानमा उपलब्ध गराएको लम्सालले जानकारी दिए। शुक्लागण्डकीमा क्रियाशिल लायन्स क्लबहरुको प्रयासमा ती उपकरण उपलब्ध गराइएको हो।
डायलासिस केन्द्रमार्फत शुक्लागण्डकी आसपासका मिर्गौलापीडित लाभान्वित भइरहेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठ बताउँछन्।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रुपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो।
सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनताले सेवा लिइरहेका छन्।



