बिरगंज। बिरगंजस्थित नारायणी अस्पतालको स्टोर कक्षमा आगलागी भएको छ।
अस्पतालको प्रसूति गृह भवनमा रहेको नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयु) को स्टोर कक्षमा मंगलबार बिहान आगलागी भएको हो। आगलागीका कारण कुनै मानवीय क्षती भने भएको छैन।
अस्पतालक मेसु डा. चुमनलाल दासले विद्युत सर्ट भएर आगो लागेको जानकारी दिए।
`बिहान करिब ४ बजे तिर अचानक विद्युत सर्ट भएर आगलागी भयो, नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयु) को स्टोर कक्षमा भएको आगलागीबाट मानवीय क्षती हुन पाएन।´ अस्पतालका मेसु डा. दासले एक्सरे नेपालसँग भने।
सो स्टोर कक्ष अस्पताल भवनको तेस्रो तलमा रहेको थियो।
अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार आगलागीले स्टोर कक्षमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।
सिंहका अनुसार बिरगंज महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो भने एनआईसीयुमा भर्ना भएका बालबालिकालाई सुरक्षित रूपमा अन्य विभागमा स्थानान्तरण गरिएको थियो।
आगलागीका कारण कति क्षती भयो भन्ने यकिन विवरण आइसकेको छैन। प्रहरीले घटनाको मुचुल्का उठाएको छ भने क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम हुँदैछ।




