काठमाडौं। काठमाडौ महानगरपालिका भित्रका विद्यालयहरुमा आजदेखि सरसफाइ थालिएको छ। महानगरको शिक्षा विभागले सबै विद्यालयलाई कक्षा सञ्चालन गर्न भन्दै सूचना जारी गरेको छ।
काठमाडौं महानगरपालिकाद्वारा निर्देशन भए अनुसार शिक्षक तथा कर्मचारीहरु आजदेखि विद्यालयमा उपस्थित भइ सरसफाइको सुरुवात गरेका छन्। विद्यालयको पठनपाठन भने भोलि सोमबारबाट संचालन हुने छ।
महानगरपालिकाले विद्यालयमा कुनै प्रकारको क्षती देखिएमा काठमाडौँ महानगरपालिकामा सोको विवरण उपलब्ध गराउन, विद्यार्थीका अभिभावकहरुसँग सम्पर्क गरी विद्यार्थीको अवस्था बुझ्न, अवस्था सामान्य नहुन्जेल आफ्ना बालबालिकालाई विद्यालयमा ल्याउन र लैजाने कार्य गर्न विद्यालयहरुलाई आग्रह गरेको छ।
यस्तै अभिभावकले आफ्ना विद्यार्थी विद्यालयमा ल्याउने लैजाने गरी जिम्मा लिएमा र परिस्थिति पनि सामान्य देखिएमा त्यस्ता विद्यार्थीलाई सोमबार देखि विद्यालयमा ल्याई मनोसामाजिक परामर्श सँग-सँगै अध्ययन अध्यापन गर्ने गराउने कार्य गर्न महानगरले भनेको छ।
महानगरले विद्यालयमा अभिभावकसँग आउन र जान नसक्ने विद्यार्थीलाई भर्चुअल कक्षामार्फत सहजिकरण गर्न भनिएको छ।




