काठमाडौं। काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट २०४ जना विपन्न, असहाय र वेवारिसे नागरिकले सेवा प्राप्त गरेका छन्।
सेवा लिनेमध्ये सबैभन्दा धेरै ४८ जनाको विभिन्न किसिमका शल्यक्रिया गरिएको छ। जसमा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्त थैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाड जोर्नीको, नाक कान घाँटीको शल्यक्रिया भएको हो।
शल्यक्रिया पछिको दोस्रोमा फेमिली मेडिसिन सेवा छ। यसअन्तर्गत जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोग रहेका छन्। ७ जनाले आकस्मिक स्वास्थ्य सेवा, १९ जनाले नशा तथा स्नायु प्रणालीको सेवा, १३ जनाले श्वासप्रश्वाश सम्बन्धी, १२ जनाले मुत्र प्रणाली तथा पिसाव सम्बन्धी समस्यामा सेवा लिएका छन्।
सेवा दिनेमध्ये सबैभन्दा धेरै अन्नपूर्ण न्युरोलोजिकल हस्पिटलबाट ५० जनाले सेवा लिएका छन्। यस्तै काठमाडौँ मेडिकल कलेजबाट १९ जना, काठमाडौँ मोडेल अस्पतालबाट १८ जना, नेपाल आँखा अस्पतालबाट १५ जना, पिपुल्स डेन्टल कलेज एण्ड जनरल अस्पतालबाट ९ जनाले सेवा लिएको तथ्यांक छ।
सेवा प्राप्त गर्ने लाभग्राहीलाई प्रदेशगत रुपमा हेर्दा सबैभन्दा धेरै बागमती प्रदेशका ७२ जनाले सेवा लिएका छन्। यस्तै गण्डकी प्रदेशका ३२ जना, कोशी प्रदेशका २७, मधेश प्रदेशका २१, लुम्बिनी प्रदेशका २०, कर्णाली प्रदेशका १७ र सुदुर पश्चिम प्रदेशका १५ जना विरामीले सेवा लिएका छन्।
यो करिब ७४ लाख १६ हजार रुपैयाँ खर्च बराबरको उपचार सेवा हो भने उपचार लिने सो संख्या सेवा प्रारम्भ भएको मिति २०८० फागुन १ गतेदेखि अहिलेसम्मको हो।
लक्षित वर्गलाई निःशुल्क उपचार गराउनु पर्ने कानुनी व्यवस्था भए पनि यो व्यवस्था कार्यान्वयनमा थिएन। यसलाई कार्यान्वयन गराउन काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको उपचार गराउने सम्बन्धी कार्यविधि, २०८० जारी गरेर अनलाइन प्रणालीमार्फतसेवा प्रारम्भ गरेको हो।
सेवालाई सहजीकरण गर्न महानगरपालिकाको स्वास्थ्य विभागमा फोकल पर्सनको प्रबन्ध गरेर सहजीकरण हुने गरेको छ। यस प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० शय्या महानगरपालिकाको प्रणालीमा आवद्ध भएका छन्।
विरामीहरूले सेवा लिने प्रक्रिया तथा आवश्यक कागजात, कुन अस्पतालमा कुन सेवा उपलब्ध छ, उपचारका लागि शैया (बेड) खाली छ वा छैन लगायतका अन्य विवरण www.freehealth.kathmandu.gov.np मा गएर हेर्न सकिन्छ। लक्षित वर्गका लागि निःशुल्क उपचारसम्बन्धी विवरण अनलाइन प्रणालीमा हेर्न सकिन्छ।
यस्तै थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको निःशुल्क कल सेन्टर ११८० मा फोन गरेर पनि बुझ्न सकिन्छ।



