काठमाडौं। काठमाडौंबाट गोरखाको आरुघाटका लागि छुटेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
मंगलबार बिहान गण्डकी प्रदेश ००६ ख ४१३१ नम्बरको बस भीमसेनथापा गाउँपालिका–३ स्थित तान्द्राङमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीका अनुसार बसमा २२ जना सवार थिए।
डीएसपी सुवेदीले बसको ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए। बस सडकबाट ४ मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा घाइतेभएका मध्ये १७ जनाको आधारभूत अस्पताल आरुघाटमा उपचार भइरहेको छ। यस्तै ४ जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ।
खुट्टा फ्याक्चर भएका, टाउकोमा चोट लागेकासहितका गम्भीर घाइतेलाई अरुघाटबाट अन्यत्र रिफर गरिएको आधारभूत अस्पताल आरुघाटले जनाएको छ। रिफर गरिएकामा बसका चालक, सहचालक र दुई जना यात्रु छन्।



