बिरगंज। हैजा नियन्त्रणमा आइनसकेको भन्दै बिरगंज महानगरपालिकाले विद्यालय बिदा थप तीन दिन बढाएको छ।
महानगर भित्र हैंजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि बिरगंज महानगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।
महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७ गतेसम्म विद्यालयहरू बन्द गर्ने घोषणा गरिएको जनाएको छ।
यसअघि भदौ ८ गतेदेखि १३ गते शुक्रबारसम्मका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बिदा गरिएको थियो। आज १४ गते शनिबार परेकाले भोलिदेखि थप तीन दिन विद्यालय बन्द हुनेछ।
हैंजाको संक्रमण नियन्त्रणमा लिन र थप जोखिम रोक्न महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै आएको छ।
यस्तै विद्यार्थीहरूलाई भीडभाड हुने स्थानमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र सुरक्षित तथा शुद्ध खानेपानी प्रयोग गर्न अनुरोध गरिएको छ।



