काठमाडौं। काठमाडौँ महानगर प्रहरी बलले भदौ १४ गते राष्ट्रिय सभागृहमा ३३ औँ महानगर प्रहरी दिवस मनाएको छ।
कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति थियो। उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘सांस्कृतिक सहरः समृद्ध महानगर’ बनाउन महानगर प्रहरीको महत्वपूर्ण योगदान रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख शाहले महानगर प्रहरी बल आफ्नो काम, कर्तव्य र दायित्व निर्वाहमा कर्मनिष्ठ भई गरेको योगदानको प्रशंसा गरे।
“महानगर प्रहरी बलको काम अरु स्थानीय तहका लागि पनि सिकाइको रूप बनेको छ। महानगरको सुरक्षा, ट्राफिक व्यवस्थापन, जोखिम न्यूनीकरण लगायत विविध कार्यमा नेपाल प्रहरीसँगको सहकार्य निक्कै राम्रो छ। आगामी दिनमा पनि कर्तव्यपालन गर्ने क्रममा अझ सशक्त, संवेदनशील र स्थानीयसँग नरम व्यवहार गर्न आवश्यक छ।” प्रमुख शाहले भने।
विशेष अतिथि तथा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले जनमानससँग प्रत्यक्ष रूपमा जोडिने निकाय प्रहरी बल भएको बताइन्।
“नागरिकको सुख–दुःख, मौलिक जात्रा, पर्व, संस्कार–संस्कृतिमा रमाइरहँदा त्यसको सुरक्षा व्यवस्थापनमा खटिने महानगर प्रहरी भने आफ्नै चाडपर्व मनाउनबाट वञ्चित रहनुपर्छ। त्यसैले महानगर प्रहरी बलको भूमिका अत्यन्त महत्वपूर्ण छ।” उनले भनिन्।
उपप्रमुख डंगोलले कार्यक्षेत्रमा खटिँदा निष्पक्ष र जनहितमा लाग्न प्रेरित गर्नुपर्ने उल्लेख गर्दै संस्थाको साख कायम राख्नमा पनि ध्यान दिनु जरुरी भएको बताइन्। नेपाल प्रहरीसँगको सहकार्य, समन्वय र सहअस्तित्व अति आवश्यक रहेको उल्लेख गर्दै उनले सकारात्मक भावना र पहिचानलाई आगामी दिनमा पनि कायम राख्न शुभकामना व्यक्त गरिन।
विशेष अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नेपाल प्रहरीले महानगर प्रहरी बलसँग धेरै क्षेत्रमा सहकार्य गरेको बताए।
जनप्रतिनिधिहरुको तर्फबाट काठमाडौं महानगरपालिका–१५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले देशकै पहिलो र संघीय राजधानी रहेको काठमाडौंलाई व्यवस्थित गर्नमा महानगर प्रहरीको ठूलो योगदान रहेको बताए।
“देशका ७७ वटै जिल्लाका मानिस बस्ने काठमाडौंलाई अझ व्यवस्थित गर्नुपर्छ। देखाउनलायक महानगर बनाउन महानगर प्रहरी बलको भूमिका महत्त्वपूर्ण छ।” उनले भने।
कार्यक्रमको सभापति तथा काठमाडौं महानगरपालिका सुशासन समितिका संयोजक, वडा २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले महानगर प्रहरी बलको भविष्यबारे सोच्न जरुरी रहेको धारणा राखे।
“सहरलाई सुव्यवस्थित राख्न अहोरात्र खटिने महानगर प्रहरीको मेहनत र भूमिका अत्यन्तै महत्वपूर्ण छ। कतिपय दर्जाका महानगर प्रहरीको बढुवा रोकिएको छ, त्यसलाई खुला गर्न जरुरी छ।” उनले भने।
सो अवसरमा आव ०८१/०८२ मा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न दर्जाका नगर प्रहरीलाई पुरस्कृत गरिएको थियो।
राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नगर प्रहरी वरिष्ठ नायब निरीक्षक लक्ष्मी महर्जनलाई ‘महानगर प्रहरी गौरव पुरस्कार’, नगर प्रहरी हवल्दार बालकृष्ण कार्कीलाई ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ प्रदान गरिएको थियो।
त्यसै गरी ‘महानगर प्रहरी पुरस्कार’ नगर प्रहरी हवल्दार विजय तामाङ, मणिराम खनाल र नगर प्रहरी जवान फिलिपी सारु मगरलाई प्रदान गरिएको थियो भने नगर प्रहरी निरीक्षक शिवजी दाहाल र सहायक निरीक्षक सुनिता बस्नेतको ग्रेड थप गरिएको थियो।
वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी नायब उपरीक्षकको नेतृत्वमा २१९ जना नगर प्रहरीको दरबन्दी व्यवस्था गरेर काठमाडौंले नगर प्रहरी सेवा थालेको हो। अहिले त्यो संगठन ३३ औं वर्षमा प्रवेश गरेको छ।
महानगरपालिकाको चल–अचल सम्पत्तिको सुरक्षा गर्ने, सभा–समारोह तथा चाडपर्वको व्यवस्थापन गर्ने, सहरी व्यवस्थापन गर्ने, सार्वजनिक सम्पत्तिको सुरक्षा र रेखदेख गर्ने, सरसफाइ र सुन्दरता जगेर्ना गर्ने, विपद् व्यवस्थापन तथा वातावरणीय सुधार गर्ने जिम्मेवारी ऐनले महानगर प्रहरीलाई प्रदान गरेको छ।



