काठमाडौं। गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले क्यान्सर उपचारका लागि आर्थिक सहायता कार्यक्रम सम्बन्धि अस्पतालहरु सुचिकृत गरेको छ।
गण्डकी प्रदेश सरकारले बुधबार “क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०८२” को दफा ७ को उपदफा ४ बमोजिम क्यान्सर रोगको उपचारमा प्रदेश सरकारको तर्फबाट थप १ लाख बराबरको आर्थिक सहायता उपलब्ध गराउने गरी सम्झौता भएर कार्यान्वयनमा आएका अस्पतालहरूलाई सुचिकृत गरिएको सूची सार्वजनिक गरेको हो। जसमा ६ विभिन्न अस्पतालहरुलाई सुचिकृत गरिएको छ।
मन्त्रालयले सुचिकृत ती अस्पताललाई उपदफा ५ बमोजिम अभिलेख गरिएको जनाएको छ।
कुनकुन अस्पताल सुचिकृत भए?
१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, काठमाडौं
२. बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवन
३. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
४. निजामती कर्मचारी अस्पताल, मिनभवन, काठमाडौं
५. भरतपुर क्यान्सर अस्पताल, भरतपुर
६. कान्ति बाल अस्पताल, महाराजगञ्ज, काठमाडौं
कसरी पाइन्छ थप सहायता?
१. गण्डकी प्रदेश स्थायी ठेगाना भएका बिरामी मात्र यो सहयोग पाउनेछन्।
२. नेपाल सरकारले जारी गरेको ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम संचालन निर्देशिका, २०८०’ बमोजिम तोकिएका कडा रोगहरु मध्ये क्यान्सर रोगको उपचारका लागि उल्लिखित ६ वटा अस्पतालहरुमा भर्ना भएको हुनुपर्ने छ र संघीय सरकारबाट उपलब्ध हुने सीमा भित्रको सम्पुर्ण रकम बराबरको उपचार सहुलियत प्राप्त गरिसकेको हुनुपर्नेछ।
३.गण्डकी प्रदेश सरकारको “क्यान्सर रोग उपचार आर्थिक सहायता कार्यविधि, २०८२” को दफा २ बमोजिम उल्लिखित अस्पतालहरुबाट उपलब्ध हुने निवेदन एवम् स्वघोषणा फाराम विरामी वा नजिकको नातेदारले भरेर सही छाप गरि अस्पतालमा पेश गर्नुपर्नेछ। यसका अलावा अन्य कुनै थप सिफारिस पत्र पेश गर्नु पर्दैन।
४. सम्बन्धित अस्पतालले बिरामीको उपचारका बखत लागेको खर्च बमोजिमको रकम यस मन्त्रालयमा माग गरि सोधभर्ना प्राप्त गर्नेछ तर यस कार्यक्रम अन्तर्गत कुनै पनि बिरामीलाई नगदै भुक्तानी दिइने छैन।




