बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

सिचुवान एयरबाट अब पोखरा-अष्ट्रेलिया अन्तर्राष्ट्रिय उडान हुने

सिचुवान एयरबाट अब पोखरा-अष्ट्रेलिया अन्तर्राष्ट्रिय उडान हुने

images
२०८२ भाद्र १२ गते, बिहिवार
२०८२ भाद्र १२ गते, बिहिवार
  • काठमाडौँ। नेपालको महत्त्वपूर्ण पर्यटकीय नगरी पोखरास्थित अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलियाका लागि अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ।

    images

    पोखराबाट चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति माग्दै थप प्रक्रिया अघि बढाएको छ।

    images

    प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया उडानको अनुमति मागेको हो। उडान अनुमतिका लागि अनौपचारिक छलफल भएको र आवश्यक प्रक्रिया पूरा गरेर अनुमति दिने तयारी गरिएको उनले जानकारी दिए। आगामी सेप्टेम्बर महिनाबाट उडान गर्ने कम्पनीको योजना रहेको छ।

    “सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रलिया उडान गर्ने योजना बनाएर प्रस्ताव गरेको छ। प्रक्रिया टुङ्ग्याउने विषयमा द्विपक्षीय छलफल पनि भइरहेको छ। छिट्टै उडानको तालिका सम्बन्धित वायुसेवाबाट पेस होला।” सूचना अधिकारी भूलले भने।

    यसअघि सिचुवान एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय  विमानस्थलबाट केही समय चार्टर उडान गरेको थियो। कम्पनीले नयाँ गन्तव्यका रूपमा अष्ट्रेलियामा नियमित उडान गर्न चाहेको हो। विसं २०८० असार ६ गते उक्त एयरलाइन्सको एयरवस ‘ए’ ३१९ पहिलोपटक पोखरा विमानस्थलमा उडान सुरु गरेको थियो।

    गत असारको ८ र ९ गते फेवातालमा भएको ‘नेपाल–चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३’ सहभागी चिनियाँ प्रतिनिधि, खेलाडी, दर्शकसहितका पर्यटकलाई ल्याउने र लैजाने प्रयोजनार्थ चार्टर्ड उडान गरिएको थियो।

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अहिले पोखरामा हिमालय एयरलाइन्सले मात्रै नियमित उडान गरिरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनादेखि अष्ट्रेलिया उडान गर्ने योजना बनाएको छ।

    यसैबीच भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पनि पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ। 

    भुटान एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टका लागि दुई/तीनवटा चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी भूलले जानकारी दिएका छन्। उनका अनुसार भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि  अनुमति मागेको छ।

    भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो। “चार्टर्ड उडान दिगो भएमा काठमाडौँजस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ। सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ। 
    उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ”, सूचना अधिकारी भूलले भने। भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणले जनाएको छ।

    हाल हिमालय एयरलाइन्सले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा हप्तामा एक दिन नियमित उडान गरिरहेको छ। काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ जोड्नेगरी हिमालयले उडान सञ्चालन गरिरहेको हो। 

    पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालयले पहिलो व्यावसायिक उडान सुरु गरेको थियो। विमानस्थलमा हिमालयका साथै सिचुवान र भूटान एयरलाइन्सको उडान भएमा विमानस्थल चलायमान बन्ने र गन्तव्य जाने यात्रुका लागि पनि सहज हुने प्राधिकरणको विश्वास छ।

    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७१ वर्षपछि मुलुकभित्र दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। त्यसको छ महिनापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भयो। यो विमानस्थलमा अन्तरराष्ट्रिय उडान विस्तार हुने क्रम जारी छ।

    तीन हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण भएको हो। वार्षिक आठ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमताको यस विमानस्थलमा दुई हजार ५०० मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग रहेको छ।

    हाल भूटानको सरकारी वायुसेवा कम्पनी ड्रुक एयर र भूटान एयरलाइन्सले काठमाडौँमा नियमित उडान गरिरहेका छन्। भूटान एयरलाइन्सले ‘फिफ्थ फ्रिडम फ्लाइट’ प्रयोग गरेर पारो–काठमाडौँ–दिल्ली र दिल्ली–काठमाडौँ–पारो भएर हप्ताको चार दिन उडान गरिरहेको छ।

    ड्रुक एयरले पारो–काठमाडौँ–पारो–दिल्ली–काठमाडौँ ‘ओभर फ्लाइट’ गरिरहेको छ। आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडान अनुमति पाएर सेवा सञ्चालन भएमा त्यसले पनि यसको प्रचारमा टेवा पुग्ने विश्वास गरिएको छ।

    प्राधिकरणका अनुसार चार्टर्ड उडान अनुमति दिन केही समस्या नभए पनि नियमित उडानका लागि भने अब पोखरा र भैरहवा वेस भएर उडान गर्नेगरी अनुमति दिइनेछ। नेपालले हाल ४२ मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ।

    हवाई सम्झौता पुनरावलोक गर्दा भैरहवा र पोखरा उडान थपिनेछ। कुनै पनि वायुसेवा कम्पनीलाई पोखरा र भैरहवाबाट चार्टर्ड उडान गर्न दिन कुनै समस्या नभएको सूचना अधिकारी भूलले जानकारी दिए। प्राधिकरणको विवरणमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर नेपालका तीन हवाई सेवा प्रदायक कम्पनीसहित ३० एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन्।

    पोखरा र भैरहवामा उडान गर्ने विदेशी वायुसेवालाई सरकारले आकर्षक छुट सुविधासमेत दिएको छ। हाल यहाँबाट हुने अन्तरराष्ट्रिय उडानबाट पाउने सम्पूर्ण शुल्क छुट दिइएको छ।

    नेपाल वायुसेवा निगमले दिने ‘ग्राउन्ड ह्यान्डलिङ’ सेवामा जम्मा २५ प्रतिशतबाहेक अतिरिक्त कुनै पनि शुल्क तिर्नु पर्दैन। यी दुई विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानको छुट तथा सहुलियत सरकारले २०८१ साउन २८ देखि दिएको हो।

    सरकारले ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ अनुसार छुट दिएको हो। यी दुई विमानस्थलको अन्तरराष्ट्रिय उडानका लागि हवाई टिकटमा लाग्ने प्रतियात्रु तीन हजार रुपैयाँको यात्रु सेवा शुल्कमा छुट छ।

    यी दुवै विमानस्थलको अन्तरराष्ट्रिय उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण तथा नेपाल एयरलाइन्सले दिने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ।

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend