तनहुँ। तनहुँस्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वालस उपचार केन्द्रमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर)’ प्रणालीको सुरुवात भएको छ।
जिपी अस्पतालमा आयोजित विशेष कार्यक्रमकाबिच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यस प्रणालीको शुभारम्भ गरेका हुन्।
ईएमआर प्रणाली लागू भएसँगै अब यस अस्पतालमा सेवा लिन आउने बिरामीको स्वास्थ्य विवरण, परीक्षणका रिपोर्ट लगायतका तथ्याङ्क विद्युतीय रूपमा सुरक्षित र एकीकृत अभिलेख राख्न सकिने भएको छ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले ईएमआर प्रणालीले उपचार सेवालाई थप व्यवस्थित, सहज र गुणस्तरीय बनाउने विश्वास व्यक्त गरे।
मन्त्री पौडेलले स्वास्थ्य सेवालाई प्रविधिमैत्री बनाउन मन्त्रालय सक्रिय रहेको समेत बताए।
"देशभरका स्वास्थ्य संस्थामा प्रविधिको विस्तार गरी नागरिकलाई सहज र गुणस्तरीय सेवा प्रदान गर्न सरकार निरन्तर क्रियाशील रहेको छ" उनले भने।
विद्युतीय चिकित्सा अभिलेखलाई व्यवस्थित गर्न मन्त्रालयले निर्देशिका जारी गरेको स्मरण गर्दै मन्त्री पौडेलले अब ईएमआर प्रणाली सबै सङ्घीय अस्पतालमा लागू गर्ने प्रतिवद्धता समेत जनाए।
मन्त्रालयले गत २०८१ फाल्गुनमा स्वास्थ्य विवरण सम्बन्धी अभिलेखलाई व्यवस्थित बनाउन "एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१" जारी गरेको थियो।
जिपी अस्पतालमा ईएमआर प्रणाली स्थापनाका लागि विश्व स्वास्थ्य सङ्गठनले सहयोग गरेको थियो। यस सहयोगका लागि मन्त्री पौडेलले विश्व स्वास्थ्य सङ्गठनप्रति आभार व्यक्त गरे।



