विराटनगर। संघीय राजधानी बाहिर पहिलोपटक सरकारी अस्पताल कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आईयूआई) सेवा सञ्चालनमा आएको छ। यो सेवाको सुरुवातपछि पुर्वी नेपालमा निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पुगेको छ।
हाल दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि कोशी अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिकमा आउने गरेका छन्। अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सो क्लिनिक सञ्चालन भइरहेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झाले उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको जानकारी दिइन्।
“निजी क्लिनिकमा गएर निःसन्तानपनको उपचार गर्न नसक्ने गरिब तथा विपन्न वर्गका दाम्पतीलाई सरकारी अस्पतालमा सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमा सेवा सुरु गरेका थियौँ”, उनले भनिन्,“अझैपनि धेरैलाई निःसन्तान क्लिनिकले प्रदान गर्ने सेवाको बारेमा जानकारी पयाप्त मात्रामा पुग्न सकेको छैन, त्यसैले सोचेजस्तो सेवाग्राही आएका छैनन्।”
अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा अञ्जुदेव र स्त्रीरोग विशेषज्ञ डा मधुमिता राणाले उक्त क्लिनिकमा सेवा प्रदान गरिरहेका छन्। यस्तै परामर्श, प्रारम्भिक परीक्षणदेखि लिएर आवश्यक भएमा आईयूआईसम्मको सेवा विभागमार्फत दिइने गरिएको छ।
निजी अस्पतालको खर्च धान्न नसक्ने धेरै दम्पती यहाँ सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार सरकारी अस्पतालमै सञ्चालन भएपछि धेरैलाई आशा पलाएको प्रमुख डा अञ्जुदेव बताउँछिन।
“हामीले संघीय राजधानीको प्रसूति गृह अस्पताल सरहको शुल्कमै सेवा प्रदान गरिरहेका छौँ, हामीले आईयूआई सेवाको शुल्क करिब रु ६ हजार तोकेको छौँ जुन निजी क्लिनिकमा दोब्बर वा सो भन्दा बढीपर्छ। शुल्क सस्तो भएपछि मध्यम आयवर्गका दम्पतीलाई यसले ठूलो राहत दिएको छ।”
बिमाबाट पनि सेवा
अस्पतालले सुरु गरेको निःसन्तान उपचार सेवा स्वास्थ्य बिमितका लागिसमेत सहज भएको छ। अस्पतालका अनुसार बिमामा आबद्ध सेवाग्राहीले बिमा कार्ड प्रयोग गरी आवश्यक जाँच र उपचार सेवामध्ये अधिकांश सुविधा कम खर्चमा लिन सक्नेछन्।
प्रमुख डा अञ्जुदेवका अनुसार निःसन्तानको समस्यामा परेका दम्पतीका लागि यो सेवा ठूलो राहतका रूपमा आउनेछ।
“कुनै–कुनै अपवादबाहेक अधिकांश जाँच स्वास्थ्य बिमा योजनामार्फत नै गराउन सकिन्छ,” उनले भनिन्, “हाम्रो चाहना सकेसम्म बिरामीलाई न्यून खर्चमा सेवा दिन सकियोस् भन्ने हो।”
उपचारको बारेमा आम जनतालाई अझ जानकारी दिनुपर्ने आवश्यकता औंल्याउँदै बीमाको पहुँच बढे उपचार सेवामा सहजता आउने विश्वास रहेकोसमेत बताइन्। यसबाट विशेषगरी आर्थिक कारणले उपचारबाट वञ्चित हुँदै आएका परिवारलाई प्रत्यक्ष लाभ हुने अपेक्षा गरिएको छ।
निःसन्तानपनको उपचारमा आईयूआई प्रारम्भिक चरणमा प्रयोग हुने प्रविधि मानिन्छ।
“पुरुषमा शुक्राणुको मात्रा वा गुणस्तर कम हुँदा, महिलामा अण्डा उत्पादनमा समस्या हुने, महिनावारी अनियमित हुने वा शुक्राणु पाठेघरमा नपुग्ने समस्या आयो भने आययूआई प्रविधिबाट सन्तान सुख दिलाउन सकिन्छ।” उनले भनिन्।
हाल अस्पतालमा आययूआई सेवा सुरु गरिएको छ भने सफलतापूर्वक सञ्चालन भएपछि आवश्यकता अनुसार इन–भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा पनि सुरु गर्ने योजना छ। आईयूआईबाट पनि उपचार सम्भव नभएमा भने दम्पतीलाई सरकारले सञ्चालन गरेको अन्य अस्पतालमा रेफर गरिने उनी बताउँछिन्।
नेपालमा निःसन्तानपन स्वास्थ्य समस्याका रूपमा देखा पर्न थालेको चिकित्सकहरूले बताएका छन। महिलामा प्रजनन अङ्गसँग सम्बन्धित रोग, मासिक धर्मको अनियमितता, हर्मोनल असन्तुलन, अण्डा उत्पादनमा कमी वा अण्डाशयसम्बन्धी समस्या प्रमुख कारण मानिन्छ। त्यस्तै, पुरुषमा शुक्राणुको उत्पादन, गति वा गुणस्तरमा कमी हुँदा पनि सन्तान सुख टाढा हुने गरेको छ।
विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्कअनुसार, निःसन्तानपनले विश्वभर करिब १५ प्रतिशत दम्पतीलाई असर गर्छ। नेपालमा पनि करिब १० देखि १५ प्रतिशत दम्पती यस समस्याबाट प्रभावित हुने गरेको अनुमान छ। कोशी अस्पतालले सञ्चालन गरेको यो क्लिनिक उपचार मात्रै होइन, प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने र मानसिक–भावनात्मक सहयोग पुर्याउने उद्देश्यसहित अघि बढाइएको छ।
निःसन्तानपन केवल स्वास्थ्य समस्या मात्र नभइ सामाजिक दबाब र मानसिक तनावसँग पनि जोडिएको हुन्छ। यस्ता अवस्थामा परामर्श, जानकारी र उपचार एकैसाथ उपलब्ध हुँदा दम्पतीले ठूलो राहत पाउने अस्पतालले जनाएको छ।



