बिरगंज। पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा अहिलेसम्म ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ।
गत साउन २८ गते सामान्य रुपमा देखापरेको झाडापखालाले अहिले बिरगंजवासीलाई त्रसित बनाएको छ। आइतबार साँझसम्म ७१ जनामा हैजा पुष्टि भइसकेको छ।
बिरगंज महानगरपालिकाको वडा नम्बर ११, १२, १३, १४ र १६ मा हैजा फैलिएको छ। यस्तै पर्सा जिल्लाको पोखरीया नगरपालिकामा पनि हैजा पुष्टि भएको छ। सुरुमा बिरगंजको मुर्लीस्थित नयाँ टोलमा हैजा पुष्टि भएको थियो।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका फोकल पर्सन जैमुद ठाकुरका अनुसार अहिलेसम्म बिरगंजमा ७१ जनामा हैजा पुष्टि भएको छ।
ठाकुरका अनुसार बिरगंजको नारायणी अस्पतालमा २६ जनामा हैजा पुष्टि भएको थियो। यस्तै तराइ अस्पतालमा २५, नेशनल मेडिकल कलेजमा ९, भवानी अस्पतालमा ३, बिरगंज हेल्थ केयरमा २, अलि अर्थो अस्पतालमा २, मंगलम प्याथोलोजीमा २ र नारायणी सेन्ट्रल अस्पतालमा २ जनामा हैजा पुष्टि भएको हो। उनीहरूको उपचार भइरहेको छ।



