धनगढी। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कैलालीको धनगढीमा अवस्थित गेटा अस्पताल मेडिकल विश्वविद्यालयका रुपमा अध्ययन अध्यापन सुरु गरेरै छाड्ने बताएका छन्।
बिहीबार अस्पतालमा आकस्मिक वार्डको उद्घाटन गर्दै मन्त्री पौडेलले २०५६ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले धनगढीमा मेडिकल कलेज खोल्नु पर्छ भनेको र अहिले सुविधा सम्पन्न अस्पताल निर्माण भएको बताए।
उनले विगतदेखि वर्तमानसम्म सबै प्रधानमन्त्री र नेताहरुले गेटा अस्पताललाई प्राथमिकतामा राखेको भए पनि पुग्ने गरि लगानी नभएको बताए। थोरैथोरै लगानी लगाउँदै भए पनि अस्पताल बनेको तर पुर्णरुपमा प्रयोग गर्न नसकिएको भन्दै पौडेलले अहिले प्रतिनिधि सभाबाट गेटा मेडिकल विश्वविद्यालयको विधेयक पास भएको बताए।
पौडेलले नेपालकै पहिलो मेडिकल विश्वविद्यालयका रुपमा गेटालाई सरकारले लिएको तर ७ वटा प्रदेशमध्ये अन्य ६ प्रदेशमा मेडिकल विषय पढाइ भएपनि सुदुरपश्चिम प्रदेशमा मात्र मेडिकल विश्वविद्यालय भएर पनि पढाइ सुरु हुन नसकेको बताए।
`यो नेपालकै पहिलो मेडिकल विश्वविद्यालय हो, अन्त कतै नेपालमा मेडिकल विश्वविद्यालय छैन, ७ वटा प्रदेशमध्ये अन्य ६ प्रदेशमा मेडिकल विषय पढाइ भइरहेको छ, मेडिकलको पढाइ नहुने प्रदेश यही मात्रै हो, तर यही प्रदेशमा मेडिकल विश्वविद्यालय बनेको छ, निराशा र आशा दुबै सँगसँगै आएको स्थिति छ, त्यसिले यो मेडिकल विश्वविद्यालयको रुपमा विकास हुन्छ, हुन्छ।´ मन्त्री पौडेलले भने।
उनले सबैभन्दा ठूलो कुरा पुर्वाधार रहेको भन्दै पुर्वाधारमा कुनै समस्या नरहेकाले विश्वविद्यालयका रुपमा विकास गर्न अब धेरै लगानी नलाग्ने बताए।
`राज्यले पुर्वाधार बनाउन पैसा खर्च गरिसक्यो, अब विश्वविद्यालय चलाउन त्यति धेरै पैसा लाग्दैन, त्यसकारण यो मेडिकल विश्वविद्यालय बन्छ, बन्छ।´ उनले दोहिर्याउँदै भने।
उनले गेटा अस्पतालमा मेडिकल उपकरण खरिदका लागि १ अर्ब भन्दा बढी रकम खर्च भइसकेको मन्त्रालयको तथ्यांक रहेको भन्दै अहिले तीमध्ये ५० प्रतिशत उपकरण प्रयोगमा आएको अवस्था रहेको आफुले विश्वास लिएको बताए।
मन्त्री पौडेलले गेटालाई ३०० बेडमा चलाउन पुर्वाधार र उपकरण पर्याप्त रहेको भन्दै प्लास्टिकले छोपेर राखेका बाँकी ५० प्रतिशत उपकरण पनि प्रयोगमा आउने गरि सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यसका लागि अहिले भएकै जति संख्यामा डाक्टर, नर्स, प्रशाशक, अप्राविधिक कर्मचारी आवश्यक पर्ने उनको भनाइ थियो।



