काठमाडौ। धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकास्थित गोदारमा अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा सेवाकेन्द्र निर्माण भएको छ। २ करोड ३३ लाख रुपैयाँ लागतमा सो सेवा केन्द्र निर्माण भएको हो।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बुधबार नवनिर्मित कृषि तथा सेवाकेन्द्रको उद्घाटन गरेका हुन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) ले निर्माण गरेको उक्त भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ।
कार्यक्रममा मन्त्री अधिकारीले किसानले आफ्नै घरमा सेवा पाउने गरि सरकारले काम गरिरहेको बताए।
`किसानलाई गाउँ घरमा नै आवश्यक सल्लाह, कृषि बाली र पशुपन्छीमा लागेका रोग र समस्याको निदानको उपाय चाहिएको छ, सरकारले किसानलाई घरमा नै सेवा पुर्याउने गरेर काम गरिरहेको छ।´ मन्त्री अधिकारीले भने।
उनले मन्त्रालयले आफ्ना विभिन्न निकाय मार्फत आम किसानको घर दैलोमै सेवा दिन आईरहेकाले किसानलाई यसको लाभ लिन पनि आग्रह गरे।
मन्त्री अधिकारीले विभिन्न पालिकामा सो किसिमका आयोजना मार्फत अत्याधुनिक सेवा सहितका कृषि भवनहरु निर्माण भएकाले पालिकाहरुले पनि यसको प्रभाकारी संचालनका लागि ध्यान दिन जरुरी रहेको बताए।
कार्यक्रममा पुर्व कृषि मन्त्री रामकृष्ण यादवले किसानहरुलाई सरकारले बढि भन्दा बढी सहजीकरण गर्न आवश्यक रहेको बताए।
यसैगरी पुर्व रक्षामन्त्री हरिप्रसाद उप्रेतीले कृषिको बजारीकरणमा पनि सरकारले प्राथमिकता दिनु पर्ने बताए।
यस्तै नगर प्रमुख जितनारायण यादवले अत्याधुनिक ल्याब सहितको सेवा केन्द्रको संचालनले कृषि र पशुमा देखिने समस्या समाधान गर्न सहज हुने बताए।
आयोजनाका निर्देशक एवं सहसचिव डा. चन्द्र रिसालले केन्द्रको संचालमा पालिकाको भुमिका महत्त्वपूर्ण हुने भएकाले यसलाई प्राथमिकतामा राख्न आग्रह गरे।
सो अत्याधुनिक प्रयोगशाला सहितको भवनमा माटो परिक्षण देखि कृषि र पशुलाई आवश्यक पर्ने भेटेनरी लगायतका सेवा केन्द्र मार्फत उपलब्ध हुने आयोजनाको आर्थिक करिडोर, महोत्तरीका प्रमुख राजेश साहले जानकारी दिए।



