काठमाडौं। बैतडीको पुर्चौंडी नगरपालिका–१० विजयपुर स्वास्थ्यचौकीमा कार्यरत २४ बर्षीया अनमी भागरथी कुँवर मृत फेला परेकी छन।
पुर्चौंडी नगरपालिका–१० विजयपुरम घर भएकी कुँवर आइतबार राती आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
घरबाट स्वास्थ्यचौकी टाढा भएकाले उनी कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। मृतक कुँवरको गत वैशाखमा मात्रै विवाह भएको थियो। उनका श्रीमान् नेपाली सेनाको स्वास्थ्य प्राविधिक सेवामा कार्यरत रहेको बताइएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। प्रहरीका अनुसार कुँवरको शव पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ।
यसैबीच स्वास्थ्यकर्मीको निधनमा बैतडीको पुर्चौंडी नगरपालिकाले आज शोक बिदा दिएको छ। नगरपालिकाले शोक वक्तव्य निकाल्दै अनमी कुँवरको असामयिक निधन भएकाले मंगलबार शोक बिदा दिइएको जनाएको छ।
कार्यवाहक नगर प्रमुख मीना धानुक र निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जारी गरेको शोक वक्तव्यमा मंगलबार नगरपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्थामा शोक बिदा दिइको उल्लेख छ।



