बिरगंज। बिरगंज कारागारमा स्वदेशी एवं विदेशी थुनुवा र कैदी गरी १ हजार ३१० जना छन्। कारागारमा महिला कैदी पाँच जना, महिला थुनुवा ४२ जना र दुई जना आश्रित बालिका छन्। विदेशी थुनुवा र कैदी १९९ जना छन्। तर कारागार ऐन अनुसार उपलब्ध हुनै पर्ने चिकित्सक भने छैनन्।
कारागार ऐन, २०७९ मा ५०० जनाभन्दा बढी कैदी बन्दी रहने प्रत्येक कारागारमा तोकिएबमोजिमको शैय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था हुनुपर्छ।
बिरगंज कारागारमा यो अवस्था छैन। एकजना चिकित्सकको दरवन्दी छ तर चिकित्सक छैनन्। कारागारमा सातौँ वा आठौं तहको एक जना मेडिकल अधिकृतको दरबन्दी भए पनि एक जना ‘हेल्थ असिस्टेन्ट’ कै भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ। जसका कारण आकस्मिक रुपमा आउने समस्या जटिल बन्ने गरेको छ।
बिरगंज कारागारमा बिरगंज महानगर–२५ का राहुल साह तुरहाको गत मंगलबार व्यायाम गर्दा स्वास्थ्यमा जटिल समस्या भएर नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि कारगारमा नियमित स्वास्थ्य परीक्षण एवं दरबन्दीअनुसार चिकित्सकको व्यवस्था हुनुपर्ने विषय पेचिलो बनेको छ।
जिल्ला कारागार प्रमुख खिमराज भुसालले कारागार व्यवस्थापन विभागसमक्ष दरबन्दीअनुसारको मेडिकल अधिकृतको व्यवस्था गर्न पत्राचार गरेको जानकारी दिए।
बिरगंज कारागारमा ब्यायाम गर्दै गर्दा स्वास्थ्यमा समस्या आएपछि साहलाई नारायणी अस्पताल लगिएकोमा मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो। मृतकका आफन्तले अस्पताल प्रशासनको लापरबाहीका कारण उनको मृत्युु भएको भन्दै उनीहरूले विरोध गर्दै प्रदर्शनमा उत्रिएका थिए।



