काठमाडौं। काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका ८८ विद्यालयको अनुगमनका क्रममा १० विद्यालय स्वास्थ्यप्रद खानपानमा उत्कृष्ट भएका छन्।
नगरपालिकाभित्रका ८८ विद्यालयको विस्तृत अनुगमनपछि विभिन्न मापदण्डका आधारमा १० विद्यालयलाई उत्कृष्ट चयन गरिएको हो। बुढानीलकण्ठ नगरपालिका र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा “स्वस्थकर खाद्य पदार्थ खरिद तथा बिक्री वितरण नीति” को सफल कार्यान्वयन अन्तर्गत उत्कृष्ट विद्यालय चुनिएको हो।
धुलिखेल अस्पताल र नगरपालिकाको जनस्वास्थ्य महाशाखाले विद्यालय छनोटका लागि प्रत्यक्ष भ्रमण, खाद्य मेनु मूल्यांकन तथा विद्यार्थी र शिक्षकसँगको अन्तर्क्रिया गरेको थियो। उत्कृष्ट भएका विद्यालयहरुलाई सम्मानसमेत गरिएको छ।
सम्मान पाउने विद्यालयहरुमा जोशेफ हाई स्कुल, रिलायन्स पब्लिक स्कुल, युरो स्कुल, मोर्गन इन्टरनेशनल स्कुल, स्पार्क एडुकेयर, ड्याफोडिल बोर्डिङ स्कुल, सितल बाटिका स्कुल, प्याराडाइज प्रि स्कुल, नव मञ्जुश्री विद्यालय र टाईनि टोस प्रि स्कुल छन्।
यी विद्यालयहरूले विद्यार्थीलाई स्वास्थ्यप्रद खानपान उपलब्ध गराउन, क्यान्टिनमा अस्वस्थकर खाद्य पदार्थको बिक्री नियन्त्रण गर्न र पोषणबारे सचेतना फैलाउन उल्लेखनीय भूमिका खेलेका छन्।
कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंह, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहाल, धुलिखेल अस्पतालका प्रमुख अनुसन्धानकर्ता डा. अर्चना श्रेष्ठ, अस्पतालका अन्य प्रतिनिधि तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरू सहभागी थिए।



