बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

काठमाडौं महानगर भित्रका २१ विद्यालयलाई नाम परिवर्तनका लागि अनुमति

काठमाडौं महानगर भित्रका २१ विद्यालयलाई नाम परिवर्तनका लागि अनुमति

कागजमा सिमित विद्यालयको अनुमति खारेज हुने

images
२०८२ श्रावण २८ गते, बुधवार
२०८२ श्रावण २८ गते, बुधवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले नाम परिवर्तनका लागि २१ वटा विद्यालयलाई अनुमति दिएको छ।

    images

    बुधबार बसेको नगर शिक्षा समितिको बैठकले नाम परिवर्तनका लागि कागजात पेश गरेका २१ वटा विद्यालयलाई नाम परिवर्तनका लागि अनुमति दिएको हो।

    images

    यस्तै बैठकले केही विद्यालयहरूको नाम परिवर्तनका लागि ३५ दिने सूचना अवधि पूरा नभएकाले तिनको निर्णय पछि गर्नेसमेत निर्णय गरेको छ।

    बैठकमा सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व परिवर्तन, सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरण, वार्षिक बजेट तथा शैक्षिक सुधारका विषयमा छलफल भएको छ। 

    बैठकले रानीदेवी माध्यमिक विद्यालय, काठमाडौं–३, रानीबारीलाई शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ। यस्तै पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयहरूलाई प्राविधिक धारमा कक्षा १२ मा सिभिल र कम्प्युटर इन्जिनियरिङ विषय थप गर्न अनुमति प्रदान गरिएको छ। 

    यस्तै संस्थागत विद्यालयहरूको कक्षा र विषय थपका लागि १२ वटा विद्यालयलाई अनुमति दिने विषयमा छलफल भएको छ।

    यसैगरी महानगरपालिका भित्र दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजीका लागि शिक्षा विभागले स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्नेछ। वैकल्पिक विद्यालयहरू महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको छ।

    यसै गरी कागजमा मात्र रहेको फिल्डमा सञ्चालनमा नआएका तथा नभएका संस्थागत  विद्यालयहरूको अनुमति खारेज गर्न प्रक्रिया सुरु गर्ने निर्णय भएको छ। साथै संस्थागत विद्यालयको स्थानान्तरणको लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेश गर्न काठमाडौँ महानगरपालिका शिक्षा तथा स्वास्थ्य समितिलाई जिम्मेवारी दिइएको छ।

    यस्तै, आर्थिक वर्ष २०८२/०८३ को शिक्षा क्षेत्रको बजेट र बुक फ्री फ्राइडे कार्यक्रमको उपयोगिता, सान्दर्भिकता र परिमार्जनका लागि शिक्षा तथा स्वास्थ्य समितिमार्फत १५ दिनभित्र प्रतिवेदन पेश गर्ने निर्णय भएको छ। सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। 

    कार्यदलले विद्यालय सञ्चालनको मापदण्ड, सामाजिक र स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाका लागि सुझावसहितको प्रतिवेदन पेश गर्नेछ। साथै, प्रारम्भिक बाल विकासको अभिलेखीकरण र विधान दर्ताका लागि शिक्षा विभागले अध्ययन गरी कार्य गर्नेछ।

    महानगरपालिकाका प्रमुख एवम् समितिका संयोजक बालेन्द्र शाहको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जन, कार्यपालिका सदस्यहरू, शिक्षाविद्, विद्यालय प्रतिनिधि, अभिभावक सङ्घ र संस्थागत विद्यालयका प्रतिनिधिहरूको उपस्थिति थियो। 

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend