काठमाडौं। काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरितका पानीका जार धमाधम जफत गर्न थालेको छ। महानगरले पछिल्लो एक सातामा विभिन्न क्षेत्रबाट २७१ वटा जार बरामद गरेको छ। असार र साउन महिनामा गरी जम्मा १३९ वटा गाडीहरूबाट ४५६ वटा जार बरामद गरी नष्ट गरेको छ।
महानगरपालिकाले साउनयता बल्खु, चाबहिल, चुच्चेपाटी, माछापोखरी, बालाजु, कोटेश्वर लगायतका क्षेत्रमा प्रशोधित पानीको अनुगमन तीव्र बनाएको छ।
ती स्थानमा चेकपोस्ट राखेर खानेपानी बोक्ने गाडीहरूको अनुगमन गरिएको महानगरका पशुपंक्षी विभाग प्रमुख नुरनिधी न्यौपानेले जानकारी दिए। महानगरले बर्खायाममा पानीजन्य रोगहरूको जोखिमलाई मध्यनजर गर्दै प्रशोधित पिउने पानीको गुणस्तरमा विशेष ध्यान दिएको उनले बताए।
`मापदण्ड विपरीतका जारहरूले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ, त्यसैले हामीले यस्ता जाारहरू तत्काल जफत गरी र नष्ट गर्ने गरेर कम्पनीहरूलाई कडा निर्देशन दिएका छौँ।´ न्यौपानेले भने।
महनगरले कुच्चिएका, फुटेका र अपारदर्शी अवस्थामा भेटिएका जारलाई मापदण्ड विपरितका भनेको छ। अनुगमनका क्रममा मापदण्ड विपरीतका जारहरू बिक्री–वितरण नगर्न, जारमा स्पष्ट लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक सवारी साधनमै लिएर हिँड्न र पानीको गुणस्तरमा संवेदनशील हुन पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिइएको छ।
प्रशोधित पिउने पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्न जारहरूको भौतिक र जैविक गुणस्तर जाँच्ने प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ।



