काठमाडौं। नेपाली सेनाले जनै पूर्णिमाको मेलालाई लक्षित गरी देशका विभिन्न स्थानहरुमा स्थापना गरेको स्वास्थ्य तथा सहायता शिविरबाट करिब ६ हजार २३३ जनाले स्वास्थ्योपचार सहायता प्राप्त गरेका छन्।
सेनाले बाजुरास्थित इश्वरीबक्स गुल्मबाट बडीमालिका मन्दिर जाने दुई स्थानमा डाक्टर र अधिकृत सहितको टोलीले ८५८ जना तथा बागलुङ ढोरपाटनस्थित दुर्गा भञ्जन गुल्मबाट ढोरबराह क्षेत्रमा ४१७ जनालाई स्वास्थ्योपचार सेवा प्रदान गरेको छ।
यसैगरी ओखलढुङ्गा जिल्लास्थित दुर्गाबक्स गणबाट सोलु दुधकुण्डमा ३५६, लमजुङ जिल्लास्थित चण्डी प्रसाद गणबाट दुधपोखरीमा १३० ले सेवा लिएका छन्।
यस्तै रसुवा जिल्लास्थित श्रीनाथ गणबाट गोसाईंकुण्ड जाने विभिन्न आठ स्थानमा डाक्टर अधिकृत सहितको टोलीले ४ हजार १९० र भक्तपुर जिल्लास्थित रणशेर गणबाट डोलेश्वर महादेव मन्दिरमा २८२ जनाको प्राथमिक उपचार एवं सामान्य स्वास्थ्य परीक्षण गरिएको जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ।
त्यसैगरी, जटिल स्वास्थ्य समस्या भएका तिर्थालुहरु दुधकुण्डबाट ४, गोसाईंकुण्डबाट ६, बडीमालिकाबाट ७ जनालाई स्ट्रेचरमार्फत उद्धार गर्नुकासाथै शरीरमा अक्सिजनको कमी भई गम्भीर बिरामी भएका ५ जनालाई ७ सिलिन्डर अक्सिजन प्रदान गरिएको सेनाले जानकारी दिएको छ।
बडिमालिका मन्दिरबाट त्रिवेणी पाटन जाने क्रममा साउन २२ र २३ गते त्रिवेणी नगरपालिका-६ विष्णुपानीको भिरबाट लडेका वर्ष ५२ र ७५ का पुरुषको शव साउन २३ गते भीरबाट निकाली पोस्टमार्टम तथा परिवारलाई हस्तान्तरण गर्ने कार्यको लागि आइतबार सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको छ।



