बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

महेन्द्रनगरमा आँखा उपचार गराउने भारतीयहरु बढे, सस्तोमा उत्कृष्ट सेवा

महेन्द्रनगरमा आँखा उपचार गराउने भारतीयहरु बढे, सस्तोमा उत्कृष्ट सेवा

images
२०८२ श्रावण २५ गते, आइतवार
२०८२ श्रावण २५ गते, आइतवार
  • कञ्चनपुर। महेन्द्रनगरमा आँखाको उपचार भरपर्दो बन्दै गएको छ। नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ। नेपालीसँगै भारतीय बीरामीहरु आँखाको उपचारका लागि आउन थालेका छन।

    images

    उत्कृष्ट सस्तो सेवाका कारण नेपालीसँगै भारतीय आँखाका बिरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन्।

    images

    अस्पतालले आर्थिक वर्ष २०८१ /८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ। अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उक्त अवधिमा मोतियाविन्दु भएका ६३४ जनाको शल्यक्रिया गरिएको छ भने ५ हजार ४१३ जनालाई चस्मा वितरण गरिएको छ।

    ‘हामीले आँखा उपचार सेवालाई गुणस्तरीय बनाएका छौँ, स्वदेशीसँगै भारतीय बीरामीले पनि सेवामा सन्तुष्टि पाएका छन्, सबैलाई समान शुल्क लिएर समान व्यवहार गरी उपचार गरिँदै आएको छ।´ धामीले भने।

    अस्पतालमा सेवा लिनेमा १ हजार ६६७ जना भारतीय नागरिक छन्। एकपटक आएका बिरामीले अन्य चिनजानका बिरामी तथा आफन्तलाई समेत अस्पतालमा उपचारका लागि सुझाउने गरेका छन्।

    `मोतियाविन्दु, आँखामा मासु पलाएका, नेत्र ज्योतिको समस्या भएका, चस्मा लाग्ने, परेला फर्केकालगायत बिरामीको शल्यक्रिया मेसिनका माध्यमबाट अस्पतालमै गरिँदै आएको छ´, उनले भने, `जलविन्दु भएका, आँखाको नानी (रेटिना) प्रत्यारोपण गर्नुपर्ने जटिल प्रकृतिका बिरामीलाई शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा ‘रेफर’ गरिँदै आइएको छ।´

    धामीका अनुसार हाल दैनिक अस्पतालमा ११५ देखि १२० जनासम्म बिरामी आँखा उपचारका लागि आउँछन्। बिरामीबाट लिने शुःल्कबापतको रकम बचत गरी अस्पताल सञ्चालनमा खर्च गरिँदै आएको उनको भनाइ छ।

    आर्थिक वर्ष २०८१/८२ मा विद्यालय र दुर्गम स्थानमा आँखा शिविर सञ्चालन गरी थप सेवा प्रवाह गरिएको छ। विद्यालयस्तरका छ शिविरमार्फत १ हजार ९०० विद्यार्थीलाई सेवा दिइएको थियो भने स्थानीय तहस्तरमा आयोजित शिविरबाट ३ हजार ९०० जनाले सेवा लिएका छन्।

    सो अस्पताल विसं २०४२ मा आँखा उपचार केन्द्रका रूपमा स्थापना भएको हो। पछि २०७० सालमा १० शय्याको आँखा अस्पतालका रूपमा स्तरोन्नति गरिएको थियो। 

    अहिले अस्पताल सञ्चालन हुँदै आएको भवनमा शल्यक्रिया गर्न अप्ठेरो हुन थालेपछि भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारलाई आग्रह गरिएको अस्पतालको भनाइ छ। तर सो बारे कुनै धारणा आइनसकेको अस्पतालको भनाइ छ।

    विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ  नेपालकै अग्रणी गैर–सरकारी संस्था हो। यसले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ। २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend