मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा मिर्गौला चोरी गर्ने गिरोह नै सक्रिय, चार जना पक्राउ

काठमाडौंमा मिर्गौला चोरी गर्ने गिरोह नै सक्रिय, चार जना पक्राउ

भुजेल बाहेकको पनि मिर्गौला निकालिएको आशंका

images
२०८२ श्रावण २२ गते, बिहिवार
२०८२ श्रावण २२ गते, बिहिवार
  • काठमाडौं। सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गौला चोरी गर्ने गिरोहको खोजीमा सक्रिय रहेको प्रहरीले चार जनालाई काठमाडौं र काभ्रेबाट पक्राउ गरेको छ। 

    images

    दुधौली नगरपालिका–१ निवासी ३७ वर्षीय भुजेललाई रोजगारीको प्रलोभन देखाई भारत लगेर मिर्गौला चोरी गरेको घटनामा संलग्न नुवाकोटका परियार थर गरेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले काठमाडौंको टोखा क्षेत्रबाट नियन्त्रणमा लिएको बताइन्छ। अन्य तीन जनाको भने सनाखत हुँदैछ।

    images

    मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख कृष्ण पंगेनीले परियारलाई नियन्त्रणमा लिइएको र उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।

    `चार जनालाई नियन्त्रणमा लिएका छौं, केही काभ्रे र केहीलाई काठमाडौंबाट पक्राउ गरिएको हो।´ पंगेनीले एक्सरे नेपालसँग भने।

    मिर्गौला निकालिएका भुजेललाई काठमाडौंबाटै भारत तर्फ लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    `पोखराबाट भारत तर्फ लगिएको भन्ने थियो, हामीले त्यस्तो पाएनौं, काठमाडौंबाट नै उनलाई लगिएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ।´ पंगेनीले अघि थपे।

    भुजेलका आफन्तले भने पोखराबाट लगिएको हुनसक्ने बताउँदै आइरहेका थिए। उनलाई रोजगारीको प्रलोभनमा फँसाएर उनको मिर्गौला चोरी गरिएको पाइएको छ।

    प्रहरीले घटनामा संलग्न अन्य केही ब्यक्तिको पनि निगरानी गरिरहेको छ। पक्राउ परेकाहरुबारे प्रहरीले जानकारी दिने तयारी गरिरहेको जनाएको छ।

    सो घटना बारे मानव बेचबिखन अनुसन्धान ब्युरोले मंगलबार बिहानबाट अनुसन्धान सुरु गरेको थियो। ब्युरोले सिन्धुलीको डकाहा प्रहरी चौकीको सहयोगमा पीडित भुजेललाई काठमाडौं ल्याएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

    भुजेललाई भारत लैजाने सम्भावित व्यक्ति पहिचान भएपछि उनलाई रेडक्रसको एम्बुलेन्समा एक जना प्रहरीको साथमा ल्याइएको थियो।

    घटनामा अन्य थप रहस्य पनि खुलेको प्रहरी स्रोत बताउँछ। सिन्धुलीका भुजेलबाहेक अन्य केही ब्यक्तिको समेत मिर्गौला चोरी गरिएको हुन सक्ने प्रहरीको आँकलन छ। 

    भुजेलको घटनापछि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरो मिर्गौला चोरी र तस्करीमा संलग्न गिरोहसम्म नै पुग्न सफल भएको बताइन्छ। घटनाको थप विवरण र रहस्य प्रहरीले खुलाइसकेको छैन।

    परिवार निकटकाहरु भने भुजेललाई भारतबाट काठमाडौं ल्याएर बसपार्कमा छाडेपछि उनी पहिले मजदुरी गर्ने साथीकोमा पुगेको र त्यसपछि सिन्धुलीस्थित घर पुगेपछि घटनाबारे जानकारी पाएको बताउँछन।

    भुजेलले पेटको कम्मरतर्फको भागमा टाँका लगाइएको घाउ थियो। उनले घाउ भएको ठाउँमा दुखाइ महसुस गरेर आफन्तलाई सुनाएका थिए।

    त्यसपछि मिर्गौला झिकिएको आशंका भएको थियो भने नजिकको अस्पताल पुगेर एक्सरे गरेर हेर्दा स्थानीय चिकित्सकले एउटा मिर्गौला नरहेको भन्दै प्रहरीलाई खबर गरिदिएका थिए। 

     

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend