जुम्ला। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति अभावका कारण भिडियो एक्सरे सेवा बन्द भएको छ।
भिडियो एक्सरे सेवा बन्द हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आउने सेवाग्राही मर्कामा परेका छन। जसले गर्दा सेवा नै प्रभावित हुने अवस्था आएको छ।
तिला गाउँपालिकाका टोपबहादुर रावतले प्रतिष्ठानमा सेवा लिन आएका बिरामी भिडियो एक्सरे सेवा प्रभावित हुँदा समस्यामा परेको बताए।
अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा. डबलबहादुर धामीले जानकारी दिए।
प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोहीले पनि आवेदन दिएका छैनन्। जसका कारण सेवा दिन समस्या परिरहेको निमित्त उपकुलपति डा. धामी बताउँछन।
उनका अनुसार प्रतिष्ठानमा एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त उपकुलपति डा धामीले जानकारी दिए।
प्रतिष्ठानले हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु, बझाङ,बाजुरा, अछाम, सुर्खेत, दैलेख, रुकुम र सल्यान जिल्लाका बिरामीहरुलाई सेवा दिंदै आइरहेको छ।



