काठमाडौं। म्याग्दीमा सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिनेहरु मध्ये १३ प्रतिशत भन्दा बढी २० वर्ष मुनिका रहेको पाइएको छ।
यो तथ्यांक स्वास्थ्य कार्यालय म्याग्दीको रेकर्डमा छ। जुन तथ्यांकले म्याग्दीमा बालविवाहका कारण शारीरिक र मानसिक रूपमा परिपक्क नभएका युवती तथा किशोरी आमा बन्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएको देखाउँछ।
आर्थिक वर्ष २०८१/८२ को सो तथ्यांक अनुसार सुत्केरी भएका र सुरक्षित गर्भपतन सेवा लिएका १३ सय ८४ जनामध्ये १३ दशमलव ७२ प्रतिशत २० वर्ष मुनिका छन्।
स्वास्थ्य कार्यालय म्याग्दीका सूचना अधिकारी गणेश सुवेदीका अनुसार गत आर्थिक वर्षमा २० वर्ष मुनिका १६१ जना सुत्केरी हुँदा सुरक्षित गर्भपतन सेवा लिने सो उमेर समूहका किशोरी तथा युवतीको सङ्ख्या २९ थियो।
यस्तै सो अवधिमा २० वर्ष माथिका ५२८ जना सुत्केरी भएका र ६६६ जनाले सुरक्षित गर्भपतन सेवा लिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए।
त्यसअघिको आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीमा सुत्केरी हुने र सुरक्षित गर्भपतन सेवा लिने १४ सय ६५ जनामध्ये २० वर्ष मुनिको सङ्ख्या १० दशमलव शून्य सात प्रतिशत थियो। बीस वर्ष मुनिका १३२ जना र २० वर्ष पुगेका ५९७ जना सुत्केरी भएका थिए।
यो तथ्यांकले आर्थिक वर्ष २०८१/८२ मा २० वर्ष मुनिका सुत्केरी र गर्भपतन सेवा लिनेको संख्या बढ्दो देखाएको छ।
अघिल्लो वर्ष गर्भपतन गराउने २० वर्ष मुनिकाको सङ्ख्या ३३ जना थियो भने २० वर्ष बढीका ८६८ जना थिए। विसं २०६८ को जनगणनाअनुसार म्याग्दीमा प्रजननयोग्य उमेर समूहका महिलाको सङ्ख्या २१ हजार १८३ जना छ। जिल्लाका ४७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनको प्रयोग गर्ने स्वास्थ्य कार्यालयको तथ्याङ्क छ।
म्याग्दी बहुमुखी क्याम्पसका उपप्रध्यापक रेखाकौशल रेग्मी समाजमा शैली फेरिए पनि बालविवाह कायम रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कले पुष्टि गरेको बताउँछन। बालविवाह, असुरक्षित र अनिच्छुक गर्भधारणका प्रमुख कारण समस्या हुने गएको उनको भनाइ छ।
“गरिबी, अभिभावकको निगरानी नहुने, असल अभिभावकत्व र संरक्षण नपाउने, भावनात्मक परिबन्धमा परेर किशोरी बालविवाह गर्न र अनिच्छुक गर्भधारण गर्न बाध्य भएका देखिन्छन्।” उनले भने।
शारिरिक तथा मानसिक रूपमा परिपक्क नभएका किशोरी, युवती आमा र गर्भवती हुँदा उच्च शिक्षा, रोजगारीको अवसरबाट बञ्चित हुने र सामाजिक रूपमा पछि गर्ने गरेका उपप्रध्यापक रेग्मीले बताए।
२० वर्षभन्दा कम उमेरमा विवाह दर्ता नहुने, विवाह दर्ता नभइकन जन्मदर्ता नहुने भएकाले बालबालिकालाई विद्यालय भर्ना गर्न, राज्यले दिने सेवासुविधा उपभोग गर्न र अन्य सरकारी कागजात बनाउन समस्या हुन थालेको छ।
उमेर नपुगी विवाह गरेका दम्पतीले जिम्मेवारी पूरा गर्न नसक्ने र पारिवारिक विचलन आउने समस्या प्क्नि बढ्दो छ। पारिवारिक विचलनका कारण सम्बन्धविच्छेद बढेको छ। जिल्ला अदालतमा आव २०८१/०८२ मा दर्ता भएका ५७२ मध्ये ३३३ वटा सम्बन्धविच्छेदका मुद्दा रहेका स्रेस्तेदार भोलाराज रेग्मी बताउँछन।
पछिल्ला केही वर्षयता म्याग्दी अदालतमा दर्ता हुने आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका हुने गरेको उनी बताउँछन। अदालत र प्रहरीमा बालविवाहसम्बन्धी मुद्दाको सङ्ख्या भने शून्य छ।
प्रादेशिक अस्पताल बेनीका प्रमुख डा रविरञ्जन प्रधानले परिवार नियोजनका साधनको प्रयोग कम हुनु, सुत्केरी हुनेभन्दा गर्भपतन गराउनेको सङ्ख्या बढी र २० वर्षभन्दा कम उमेर समूहका सुत्केरी र गर्भपतन गराउनेको सङ्ख्या बढ्नुले मातृशिशु प्रजनन स्वास्थ्यमा चुनौती थपेको बताए।
“सुरक्षित गर्भपतन सेवाको पहुँचसँगै सेवा लिने बढ्नुलाई सकारात्मक मानिए पनि धेरैपटक गर्भपतन गराउँदा स्वास्थ्यलाई राम्रो गर्दैन”, उनले भने, “शारीरिक र मानसिक रूपमा सक्षम भइनसकेका किशोरी आमा बन्दा उनीहरूको प्रजनन स्वास्थ्यमा जोखिम हुन्छ।”
बालविवाह न्यूनीकरणका लागि राज्यका निकायले जिम्मेवार भएर सचेतनामूलक अभियान चलाउने, अभिभावकले सन्तानप्रतिको जिम्मेवारी निभाउने र स्वयं किशोरी तथा युवती सचेत हुने, मेलाजात्रालाई नियमन गर्नुपर्ने उपप्रध्यापक रेग्मीको भनाइ छ।



