बागलुङ। बागलुङको बडिगाड गाउँपालिकामा साउन १ गतेबाट सेवा सुरुवात गरेको १५ शैय्याको आधारभूत अस्पतालले मिर्गौलाको डायलाइसिस सेवा दिने तयारी गरेको छ।
सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत बडिगाड गाउँपालिकालाई रु एक करोड एक लाख ४४ हजार ८२० बराबरको पाँचवटा डायलाइसिस उपकरण प्राप्त भएपछि गाउँपालिकाले डायलाइसिस सेवा संचालन गर्ने तयारी गरेको हो।
गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले जिल्ला अस्पतालबाट दिइरहेको डायलाइसिस सेवा अब गाउँपालिकाबाट दिने तयारीका साथ उपकरण अस्पतालमा आएको जानकारी दिए। उनले गाउँपालिकाबाट आधारभूत अस्पतालमा डायलाइसिस सेवा दिइने बडिगाड गाउँपालिका देशकै पहिलो गाउँपालिका भएको पनि दाबी गरे।
बागलुङको बडिगाड गाउँपालिकाले पश्चिम बागलुङका मिर्गौलाको बिरामीका लागि डायलाइसिस सेवा सुरु गर्न उपकरण भित्र्याएको हो। बडिगाड–५ ग्वालीचौरमा हालै सम्पन्न रु १८ करोड लागतको भवनमा १५ शय्याको अस्पताल निर्माण भएको थियो।
गाउँपालिकाले आगामी कात्तिकभित्र डायलाइसिस सेवा दिनेगरी स्वास्थ्यकर्मीलाई तालिम दिने तयारीमा जुटेको अध्यक्ष अधिकारीले जानकारी दिएका हुन।
मध्यपहाडी पुष्पलाल लोकमार्गको नजिकै रहेको अस्पतालले राजर्मागमा हुने दुर्घटनाका बिरामीलाई समेत सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।
यसअघि धवलागिरि अस्पतालमा मात्र सो सुविधा रहेकामा बडिगाडमा पनि डायलाइसिस सेवा सञ्चालनसम्बन्धी एक वर्षअघि बडिगाड गाउँपालिका र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबीच सम्झौता भएको थियो। सो सम्झौता अनुसाए अहिले
आवश्यक उपकरण प्राप्त भएको हो।
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र बडिगाड गाउँपालिकाका अध्यक्ष अधिकारीबीच डायलाइसिस सेवा दिने विषयमा सम्झौता भएअनुसार उपकरण गाउँपालिकामा आएको र जनशक्ति ब्यवस्थापनको काम भैरहेको अधिकारी बताउँछन।
गाउँपालिका अध्यक्षका अनुसार पालिकाका एक मेडिकल अधिकृत र तीन स्टाफ नर्सलाई डायलाइसिस सेवाका लागि तालिममा पठाउने तयारी गरिएको छ।
बडिगाडको आधारभूत अस्पताल स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुका रूपमा समेत सूचीकृत भैसकेको छ। गण्डकी प्रदेशबाट थप एक मेडिकल अधिकृत तथा सङ्घीय सरकारबाट दुई चिकित्सक र तीन स्टाफ नर्ससहितको उपकण दिइने देशभरको ४८ सूचीमा समेत यस गाउँपालिकाको आधारभूत अस्पताल परेको छ।
यसबाट बागलुङ पश्चिमका साथै गुल्मी, रुकुम र रोल्पाका जनताले सहज सेवा पाउने बडिगाड गाउँपालिका अध्यक्ष अधिकारीले बताए। बडिगाडले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सामान्य रोगको उपचार गर्दै आएको छ।



