चितवन। साउन सुरु भएयता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ३२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ।
चालु आर्थिक वर्षको १५ दिनमा सो सङ्ख्यामा डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो। जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ७९८ जनाको परीक्षण गर्दा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।
कार्यालयकी जनस्वास्थ्य अधिकृत अंशु पोखरेलका अनुसार सङ्क्रमितमध्ये १४ जना चितवनका छन भने ६ जना अन्यत्रका छन्।
जिल्लाको भरतपुर महानगरपालिकाका ७, खैरहनी नगरपालिकाका ३, रत्ननगर नगरपालिकाका २, कालिका नगरपालिकाका २ जनामा डेङ्गुको सङ्क्रमण देखिएको हो। जसअनुसार ५ जना पुरुष र ९ जना महिलामा डेङ्गुको सङ्क्रमण देखिएको उनले जानकारी दिइन्।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ। यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्ने जनस्वासथ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती बताउँछन।
यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रम, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फूल पार्ने हुँदा त्यस्ता ठाउँमा पानी जम्न नै नदिनु उचित हुने उनी सुझाउँछन। यो रोग लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांशपेशी दुख्ने, शरीरमा विविरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउने जस्ता लक्ष्यण देखा पर्छ।
१५ दिनमा ३२ जनामा स्क्रब टाइफस
यही १५ दिनमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ३२ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो।
जनस्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत पोखरेलका अनुसार सङ्क्रमितमध्ये २३ जना चितवनका छन भने ९ जना जिल्ला बाहिरका छन्।
स्क्रब टाइफस एक प्रकारको सरुवा रोग हो। जुन मुसामा पाइने माइट (किर्नाजस्तो देखिने कीरो) को टोकाइबाट मानिसमा सर्छ। यो रोग मानिसबाट मानिसमा सर्दैन।
कार्यालयका प्रमुख रुपाखेतीका अनुसार स्क्रब टाइफस ओरेन्टिया सुसुगामुसी नामक जीवाणुबाट सर्छ। माइट प्रायः झाडी, खेतबारी, वनजङ्गल, वा घरवरिपरिको फोहर क्षेत्रमा पाइन्छ।
उनले रोग नियन्त्रणका लागि खेतबारी, वनजङ्गल वा घाँस काट्न जाँदा पूरै शरीर ढाक्ने कपडा लगाउन, सकेसम्म जुत्ता प्रयोग गर्न, घाँसबारी वा चउरमा गुन्द्री वा दरी ओछ्याएर मात्र बस्न तथा भूइँमा सुत्न वा बस्न नहुने बताए।
रोगका लक्षणमा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटभन्दा बढी), अत्यधिक पसिना आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अङ्ग प्रभावित हुने, तथा कीराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्न सक्ने रुपाखेती बताउँछन।



