काठमाडौं। सन् २००० यता मोटोपना विश्वकै चुनौति बनिरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विशेषगरी बालबालिका र युवामा मोटोपनको शिकार हुँदा नसर्ने रोगहरु बढेका छन्।
संगठनका अनुसार सन् २०२२ मा १८ वर्षभन्दा माथिका २.५ बिलियन अर्थात् साढे दुई अर्ब व्यक्तिको शरीरको तौल सामान्यभन्दा बढी छ। तिमध्ये ८९ करोड जनसंख्यामा मोटोपनासम्बन्धी विभिन्न समस्या रहेको पाइएको छ।
यस्तै सन् २०२४ मा आइपुग्दा ५ वर्षमुनिका ३५ मिलियन अर्थात् साढे तीन करोड बालबालिकामा मोटोपनको समस्या छ। १८ वर्षमाथिका मोटोपन भएका व्यक्तिमध्ये ४३ प्रतिशत पुरुष र ४४ प्रतिशत महिला छन्।
सन् १९९० देखि २०२२ सम्म आइपुग्दा मोटोपनाको अवस्था दोब्बरले बढेको संगठनको तथ्यांक छ। मोटोपना भएकाको जनसंख्यामध्ये ३१ प्रतिशत दक्षिण पूर्वी एसियामा रहेको र अन्य क्षेत्रमा रहेको पाइएको छ।
बढी तौल र मोटोपनको समस्याको मुख्य कारण असन्तुलित खानपान र शारीरिक व्यायामको कमी रहेको संगठनको निष्कर्ष छ।
मोटोपनकै कारण निम्तिने नसर्ने रोगहरुका कारण बार्षिक ३७ लाख मानिसको मृत्यु भइरहेको संगठनले जनाएको छ। जसमध्ये मुख्य मुटु, श्वासप्रश्वास, नसा तथा मधुमेहसम्बन्धी समस्या छन्।



